काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ले आफ्नै कर्मचारीलाई भौतिक आक्रमण तथा दुर्व्यवहार गरेको भन्दै गण्डकी प्रदेश सरकारका सचिवहरुले गम्भिर ध्यानाकर्षण गराएका छन् ।
मन्त्री मनाङेले मंगलबार मन्त्री कार्यकक्षमा मन्त्रालयको कामको सिलसिलामा छलफल हुँदैगर्दा सोही मन्त्रालयका अधिकृत स्तरका प्रकाश ओझालाई दुर्व्यवहार गरेका थिए । सो घटना सम्बन्धि खबर प्रकाश ओझा तथा विभिन्न सञ्चार माध्यमबाट जानकारी भएपछि सचिवहरुले ध्यानाकर्षण गराएका हुन् ।
कर्मचारीको संरक्षकको भुमिका निर्वाह गनुपर्ने मन्त्रीहरु बाट नै यस्तो दुर्व्यवहार हुने भएपछि सबै कर्मचारीहरुको मनोबल घट्ने गण्डकी सरकारका सचिवहरुले बताएका छन् । साथै यस्तो दुर्व्यवहारले प्रदेश सरकारको सम्पुर्ण कार्यसम्पादनमा नै प्रत्यक्ष असर पर्नेजाने उल्लेख गरेका छन् ।
सचिवहरुले प्रेस विज्ञप्ती मार्फत मन्त्री मनाङेलाई कर्मचारीको सुरक्षित वातावरणमा विधिसम्वत तवरबाट आफ्नो जिम्मेवारी पुरा गर्न समेत अनुरोध गरेका छन् ।



