काठमाडौं । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उपकुलपति भएपछि २ वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । २०७६ चैतमा ५ वर्षका लागि उपकुलपति नियुक्त भएका गिरीले यो अवधि प्रतिष्ठानमा भएका उपलब्धिपूर्ण कामहरुको फेहरिस्त सार्वजनिक गरेका हुन् ।
प्रदेश नं १ कै सबैभन्दा ठूलो अस्पताल र मेडिकल कलेज समेत रहेको प्रतिष्ठानले राजनीतिक खिचातानी र कोभिड महामारीका बाबजुद पनि यो अवधिमा निकै ठूलो उपलब्धि हासिल गरेको विवरण प्रस्तुत गरेको छ । प्रतिष्ठानले अस्पताल सेवा, शैक्षिक गतिविधि र प्रशासन समेत गरी तीनैतर्फ उल्लेख्य सुधार गरेको जनाएको छ । यो उपलब्धि प्रतिष्ठानको इतिहासमै सबैभन्दा राम्रो भएको उपकुलपति गिरीको भनाइ छ ।
अस्पताल सेवातर्फ कोभिड–१९ महामारीको व्यवस्थापन तथा अस्पतालको नियमित स्तरोन्नतितर्फ ठूलो उपलब्धि हासिल भएको जनाएको छ । कोभिड नियन्त्रणका लागि यो अवधिमा अस्पतालले २ सय ७० बेडको अस्पताल विस्तार गरेको छ ।
त्यस्तै, इमर्जेन्सी, ल्याब, रेडियोलोजी, अकुपेशनल थेरापी सेवाको सुधार तथा स्तरोन्नति गरिएको छ । मिर्गौला पीडितका लागि २० बेडको कक्ष निर्माण अन्तिम चरणमा रहेको समेत प्रतिष्ठानले जनाएको छ ।
अस्पताललाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत अस्पतालले मोबाइल एपबाटै ओपीडी बिरामीको दर्ता गर्नसक्ने, स्वास्थ्य बीमामा एपीआई सिस्टमबाट स्वतः दाबी गर्नसक्ने लगायतका व्यवस्थाहरू गरेको छ । अस्पतालको डिजिटलाइजेसनका लागि एकीकृत सफ्टवेयर विकास गर्ने प्रक्रिया सुरु गरेको अस्पतालले जनाएको छ ।
त्यस्तै, ४ सय शैय्याको एमएचसी भवन निर्माण सम्पन्न भइ फिनिसिङको चरणमा रहेको, कार्डियोलोजी, अन्कोलोजी र ट्रमा सेन्टरको भवन निर्माणका लागि पहल गरिएको, बन्द रहेको फार्मेसी सेवालाई सुरु गरिएको तथा छुट्टै फार्मेसी भवन निर्माणको ८० प्रतिशत कार्य समेत सम्पन्न भइसकेको जनाइएको छ ।
यस प्रतिष्ठानले अस्पतालमा आउने मात्रै नभएर अस्पतालको पहुँच नभएका दुर्गम क्षेत्रका जनतलाई समेत टेलिमेडिसिन सेवा उपलब्ध गराएको छ । २ वर्षको अवधिमा सुनसरी मोरङ र धनकुटाका झन्डै १२ हजारले यस्तो सेवा प्राप्त गरेको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै, अस्पतालमा रहेका पुरानो प्रणालीका ६० डेन्टल चेयरमध्ये ३० वटा विस्थापित गरी नयाँ प्रविधिको इलेक्ट्रिकल डेन्टल चेयर प्रतिस्थापन गरिएको, मेडिसिन र सर्जरी वार्डका सम्पूर्ण बेडमा मेडिकल ग्यास पाइपलाइन जडान गरिएको, पेइङ वार्डका हरेक बेडमा पाइपलाइन पुर्याएर नियमित भेन्टिलेटरको व्यवस्था गरिएको विवरणमा उल्लेख छ ।
अस्पतालले १/१ हजार लिटर क्षमताको अक्सिजन प्लान्ट, केन्द्रीय प्रयोगशालाका लागि अत्याधुनिक एकीकृत बायोकेमेष्ट्री एनालाइजर तथा विश्व स्वास्थ्य संगठनको सहकार्यमा स्किल ल्याब स्थापनाका लागि पहल समेत गरेको छ ।
प्रशासनिक सुधारतर्फ पनि उल्लेख्य प्रगति हासिल भएको उपकुलपति डा. गिरीको भनाइ छ । प्रतिष्ठानभित्र १५ वर्षदेखि हुन नसकेको कर्मचारी बढुवा गर्ने प्रक्रिया थालिएको, कर्मचारी तथा शिक्षकको तलब वृद्धि भएको, प्रतिष्ठानको नियमावली सुधारका लागि आवश्यक पहल गरिएको उनले बताए ।
त्यस्तै, अस्पतालको सुधारका लागि नेपाल एडमिनिष्ट्रेसन स्टाफ कलेजसँगको सहकार्यमा पहिलो चरणको ओ एण्ड एम सर्भे समेत गरिसकेको उनको भनाइ छ । प्रतिष्ठान विकास तथा सुभारका लागि स्थानीयवासीको सुझाव लिन ‘लोकल फ्रेन्ड्स अफ बीपीकेआईएचएस’ स्थापना गरी छलफल सुरु गरिएको सोत उपकुलपति गिरीको भनाइ छ ।
अस्पतालको सेवा व्यवस्थापन तथा सेवाको दीगो सुधारका लागि अस्पतालका डेपुटी निर्देशकको नेतृत्वमा सुधार कमिटी गठन गरिएको, खानेपानी व्यवस्थापनका लागि २ वटा डिप बोरिङका लागि ठेक्का प्रक्रिया अघि बढेको समेत उल्लेख गरिएको छ । अस्पतालभित्रको इनर्जी खपत व्यवस्थापनका लागि इनर्जी अडिट गरी अनावश्यक इनर्जी खर्चको नियन्त्रणको काम समेत गरिएको प्रतिष्ठानले जनाएको छ ।
उल्लेखित कामका बाबजुद पनि आफूलाई सरकार र प्रतिष्ठानकै केही पदाधिकारी, कर्मचारी र शिक्षकबाट आफूमाथि निरन्तर असहयोग हुँदै आएको गुनासो उपकुलपति गिरीको छ । आफू आएको १ वर्षसम्म राम्रोसँग काम गर्न सकेको भए पनि पछिल्लो वर्ष भने चौतर्फी घेराबन्दीमा पारेका कारण आफूले सोचेअनुसार काम गर्न नसकेको उनको भनाइ छ ।
प्रतिष्ठानको कमजोर व्यवस्थाप र राजनीतिक खिचातानीका कारण प्रतिष्ठानको आर्थिक अवस्था कमजोर भएको स्वीकार गर्दै गिरीले आफूसँग यी सबै समस्याको समाधान रहेको तर त्यसका लागि आफूलाई काम गर्ने वातावरण नभएको दुखेसो गरे । व्यक्तिगत स्वार्थ र महत्वाकांक्षा त्यागेर प्रतिष्ठानलाई माथि उठाउने र विश्वविद्यालयमा रुपान्तरण हासिल गर्ने लक्ष्यलाई सफल बनाउन उनले सबै पक्षको सहयोगको आह्वान समेत गरे ।



