images
images

हाइड्रो एक्स्पो सम्पन्न, विद्युत निर्यातको अनुमति निजी क्षेत्रलाई दिन इपानको माग


  • 429
    SHARES
  • २०७८ चैत्र २१ गते सोमबार

    हाइड्रो एक्स्पो सम्पन्न, विद्युत निर्यातको अनुमति निजी क्षेत्रलाई दिन इपानको माग

    काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी तेस्रोे संस्करणको हिमालयन हाइड्रो एक्स्पो सम्पन्न भएको छ । चैत्र १९ गते शनिबारदेखि सुरु भएको एक्स्पो २१ गते सोमबार सम्पन्न भएको हो । एक्स्पोले मुलुकको उर्जाक्षेत्रको विकास तथा विस्तारका लागि थप उर्जा प्रदान गरेको आयोजक तथा सहभागीको विश्वास छ ।

    एक्स्पोको समापन शत्रमा आयोजक मध्येको एक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले स्वदेशमा उत्पादित विद्युतको बिक्री बितरण तथा निर्यातको काम निजी क्षेत्रलाई दिन माग गरेको छ ।

     इपान अध्यक्ष कृष्णप्रसाद आचार्यले उर्जामन्त्री पम्फा भुसाललाई विद्युत खरिद बिक्री सम्झौता नरोक्न आग्रह गरे । विद्युत खरिद बिक्रीको काम सरकार तथा विद्युत प्राधिकरणले गर्न नसक्ने भए निजी क्षेत्रलाई नै खरिद बिक्रीको काम गर्ने बाटो खुलाईदिन आचार्यले माग गरे । “हामीले विद्युत व्यापार गर्ने इजाजत पाएको खण्डमा हामी आफै पिपिए गर्छौ । यसो भएको खण्डमा विद्युत प्राधिकरणको आधा भन्दा धेरै समस्या समाधान हुन्छ ।” आचार्यले भने । 

    साथै उनले जलविद्युतका प्रवद्र्धक तथा उत्पादकहरुले काम गर्दा धेरै निकाय धाउनु पर्ने समस्या रहेकोतर्फ उर्जामन्त्री भुषालको ध्यानाकर्षण गराए  । “अहिले कुनै पनि परियेजना सुरु गर्दा ७ मन्त्रालय २२ विभाग २ सय वट टेबलमा पुग्नु पर्छ,” उनले भने, “त्यो संगै स्थानीय स्तरमा समेत विभिन्न खालका उल्झनहरु छन । त्यसका लागि सरकारले जलविद्युत क्षेत्रलाई एक द्धार प्रणाली बनाउन आवश्यक छ ।”

    रोबो कम्पिटिशन, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी एक्स्पोका थप आर्कषण रहेका थिए । त्यस्तै, एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको थियो ।

    विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र रहेका थिए ।एक्स्पोको उदघाटनको दिन विद्युतको आन्तरिक बजारलाई प्रवद्र्धन गर्न र विद्युतीय सवारीसाधन सम्बन्धी सरकारको विशेष नीतिका लागि ध्यानाकर्षण गराउनका लागि विद्युतिय याली आयोजना गरिएको थियो ।

    एक्स्पोमा जलविद्युत आयोजना निर्माता, जलविद्युतमा प्रयोग हुने उपकरणहरुका उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकरवित्त कम्पनीहरु लगायत सय वटाभन्दा बढी स्टल रहेका थिए । 

    एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

     

     


    images
    images

    Logo