images
images

घोराहीमा जैविक ग्यास उत्पादन प्लान्टको उद्घाटन


  • 373
    SHARES
  • २०७८ चैत्र १९ गते शनिबार

    घोराहीमा जैविक ग्यास उत्पादन प्लान्टको उद्घाटन

    देउखुरी । घरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट जडान गरी खाना पकाउने ग्यास, विद्युत् र जैविक मल उत्पादनमा पनि नेपालले सफलता पाउन थालेको छ ।

    जैविक (गल्ने) फोहोरबाट व्यावसायिक प्रयोजनमा ल्याउने गरी ठूला क्षमताका बायोग्यास प्लान्टले विदेशबाट आयोजित एलपी ग्यास र रासायनिक मलको निर्भरतालाई कम गर्न सकिने भएको छ ।

    घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बानेश्वर काठमाडौँको सहयोग र नेपाल ऊर्जा विकास कम्पनी प्रालि काठमाडौँको प्रवद्र्धनमा घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा स्थापना गरिएको बायोग्यास प्लान्टले यो सम्भावनालाई उजागर गरेको छ । करिब २४ करोड रुपैयाँ भन्दा बढीको लागतमा निर्माण भएको सो ग्यास प्लान्टबाट ग्यास उत्पादन थालिएको हो । सो प्लान्टको शनिबार उद्घाटन गर्दै नगरप्रमुख नरुलाल चौधरीले फोहोरलाई मोहरमा बदल्ने योजना सफल भएको बताए । 

    जनप्रतिनिधिका रुपमा निर्वाचित हुनुभन्दा पहिले थालिएको सोचलाई आफूहरुले पनि प्राथमिकताका साथ लिएको र अहिले सफल भएको उनको भनाइ छ । गल्ने फोहोरबाट ग्यास र मल उत्पादन गर्ने योजनालाई आफ्नै कार्यकालमा सफल भएको भन्दै उनले गल्ने र नगल्ने फोहोरको छुट्टाछुट्टै व्यवस्थापन गरेर राखिदिन नगरवासीलाई आग्रह पनि गरे ।  

    नगरवासीसँग फोहोर किनेर ग्यास बनाएर नगरवासीलाई बिक्री गर्ने कार्यक्रम रहेको उनले बताए । नगरले गल्ने र नगल्ने फोहोरलाई पुनः प्रयोगमा ल्याएर फोहोर फालिँदै आएको ल्यान्डफिल साइटमा शून्य फोहोरमा झार्ने सोच रहेको बताए । गल्ने फोहोरबाट ग्यास उत्पादन भइसकेको अवस्थामा अब नगल्ने फोहोरलाई पनि नागरिकहरुबाट खरिद गरेर बिक्री गर्ने गरी निजी क्षेत्रसँग समझदारीको तयारी भइरहेको जानकारी दिए ।

    सरकारी र गैरसरकारी संस्थाहरु बीचको सहकार्यबाट योजना सफल भएकाले यसअघि गाड्दै र फालिँदै आएको फोहोरलाई सदुपयोग गर्न ग्यास प्लान्टले सार्थकता दिने उनले बताए । सरसफाइ अभियानले फोहोर चुनौती हैन, अवसर हो भन्ने काम यो प्लान्टले देखाएको उनले बताए । अब किसानले व्यावसायिक पशुपालनमा जोड दिनुपर्ने र गोबरसमेत खरिद बिक्री हुने बताए ।

    २४ करोड ७६ हजार ७ सय ३८ रुपैयाँ को लागतमा ग्यास प्लान्टको निर्माण भएको नेपाल ऊर्जा विकास कम्पनीका सल्लाहकार कृष्णप्रसाद पोख्रेलले जानकारी दिए । लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो र पहिलो जैविक फोहोरबाट ग्यास उत्पादन हुने परियोजना रहेको उनले जानकारी दिए । यो प्लान्टमा दैनिक ३० टन कच्चापदार्थको आवश्यकता पर्ने र क्षमताअनुसारको कच्चापदार्थ उपलब्ध भएमा एकै पटक दुई हजार घरधुरीलाई ग्यास पु¥याउन सक्ने उनले जानकारी दिए । 
     २०७४ साल देखि प्रक्रिया सुरु गरेको र २०७७ सालबाट उद्योग स्थापनाको काम थालिएको थिए । बीचमा दुई वर्षको समयमा कोरोना भाइरस सङ्क्रमणका काराण कार्यक्रम भनेको समयभन्दा ढिला हुन गएको उनले बताए । पाइपलाइनमार्फत स्थानीयवासीको घरघरमा पु¥याउने कार्यक्रम रहेको छ । मिटरबक्समार्फत ग्यास प्रयोगको मापन हुने उनले जानकारी दिए ।

    नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले नगरलाई सफा र स्वच्छ बनाउन फोहोरलाई मोहरमा बदल्ने अभियानले सार्थकता पाउँदै गरेको र जथाभावी फालिँदै आएको फोहोर व्यवस्थित हुँदै गएको बताए । ग्यास उत्पादनमा मात्रै सीमित नभएको भन्दै उनले यसले फोहोरको उचित व्यवस्थान र नागरिकहरुको स्वास्थ्यमा समेत ठूलो सुधार ल्याउने बताए । फोहोरबाट ग्यास, मल उत्पादनसँगै नगल्ने फोहोर खरिदले फोहोर व्यवस्थापनमा ठूलो सहयोग पुगेको उनले बताए । 

    त्यसैगरी, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले फोहोर सङ्कलनलाई थप व्यवस्थित गर्न नगरले समन्वयकारी भूमिकामा ध्यान दिनुपर्नेमा जोड दिए । ग्यास उद्योग गौरवको योजना भएकाले नगरवासी सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । 

    दुई बिघा १२ कट्ठा जमिनमा यसको संरचना निर्माण गरिएको छ । उपमहानगरभित्रका वडा नं १० र १६ मा पाइपलाइन विस्तार गरेर पहिलो चरणमा ५०० घरमा ग्यास जडान गर्ने गरी काम भइरहेको छ । ग्यास प्लान्टले अबको २० वर्षपछि उद्योग घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ ।

     


    images
    images

    Logo