काठमाडौं । भारत भ्रमणका रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।
दुवै प्रधानमन्त्रीद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले स्थापित संयन्त्रबाट उक्त समस्या समाधान गर्न मोदीलाई आग्रह गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले सीमाको विवादको बारेमा कुनै धारणा नराखे पनि अवाञ्छित तत्त्वले नेपाल भारत सीमाको दुरुपयोग नगरुन् भन्नेबारे छलफल भएको बताए।
उनले भारतले नेपाललाई सुख दुखको साथीका रूपमा हेरेको भन्दै नेपालप्रति आफ्नो मुलुकले सधैँ आत्मीयता प्रेरित भावना राख्ने बताएका छन् ।
दुवै प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतका अधिकारीहरूले रेलवेका क्षेत्रमा प्राविधिक सहकार्य गर्ने, पेट्रोलियम पदार्थको आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल निगमबीचको प्राविधिक सहकार्य अभिवृद्धि गर्ने विषयका सम्झौतामा हस्ताक्षर गरेका थिए।
दुई देशबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ। अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानबारे सम्झौता भएको हो ।



