काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर–जयनगर रेल सेवा उद्घाटन गरेका छन् । दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन गरेका हुन् ।
अब आजदेखि रेल नियमित रुपमा सञ्चालन हुनेछ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा तोकिएको छ ।एसी सिटका लागि भने जनकपुर–जयनगर ३ सय ५० र कुर्था–जयनगर ४ सय ५० रुपैयाँ भाडा कायम गरिएको जनाइएको छ । रेल चलाउनका लागि २६ जना भारतीय प्राविधिक कर्मचारी आइसकेका छन् ।
२०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो । गत फागुन १ बाट ‘ड्राई रन’ थालिएको हो। २०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी सम्झौता भएको थियो। भारतीय रेलवे कम्पनी कोंकणले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो।



