images
images

नाट्टा रहेर विगतमा मैले पूरा गरेको काम नै मेरो जीतको आधार हो

रमेश थापा, अध्यक्षका उम्मेदवार, नाट्टा


  • 377
    SHARES
  • २०७८ चैत्र १६ गते बुधबार

    नाट्टा रहेर विगतमा मैले पूरा गरेको काम नै मेरो जीतको आधार हो

    नेपाल एशोसिएसन फर टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी कार्यसमितिका लागि बिहीबार मतदान हुँदैछ । नयाँ कार्यकालका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष विनयराज बस्नेत र वर्तमान उपाध्यक्ष रमेश थापा अध्यक्षका प्रत्यासी छन् । उनीहरु दुवैले नयाँ नेतृत्वका लागि प्यानलसहित आफ्नो उम्मेदवारी दिएका छन् । 

    यही क्रममा अध्यक्षका प्रत्यासी उम्मेदवार रमेश थापासँग नेपालअर्थले अध्यक्षमा दिएको उम्मेदवारी, जित्ने आधार र निर्वाचित भएको अवस्थामा गर्ने कामका सम्बन्धमा छोटो कुराकानी गरेको छ । 

    नेपाल एशोसिएसन फर टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ, तपाइँको उम्मेदवारीको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ?

    मैले यो संस्थामा रहेर वा संस्थाभन्दा बाहिर रहेर टुर एण्ड ट्राभल क्षेत्रको विकासका लागि गरेको कामले नै मेरो उम्मेदवारीको औचित्य पुष्टि गर्छ भन्ने लाग्छ । मैले विगत ३ दशकदेखि पर्यटन क्षेत्रमा काम गरेँ । विभिन्न संघ संस्थामा आवद्ध रहेर आफ्नो जिम्मेवारी पुरा गरेँ । यही संस्थामा सचिव, महासचिव हुँदै अहिले उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेको छु । 

    यो क्रममा मैले विभिन्न संघ संस्थाहरुसँग आवद्ध भएर काम गरेको छु । विदेशमा सेल्स मिशन देखि स्वदेशमा ट्राभल मार्टसम्म पर्यटन प्रवद्र्धनका विभिन्न कामहरुको संयोजन गरेँ । ऐन नियम तथा अन्य नीतिगत सुधारका लागि पनि धैरै कामहरु गरियो । यी विविध कारणले गर्दा म नाट्टामा अध्यक्षको रुपमा योग्य छु भन्ने लाग्छ । 

    तपाइँ अहिले उपाध्यक्ष हुनुहुन्छ । कोभिडका कारणले यो क्षेत्र संकटग्रस्त, यो क्षेत्रको पुनरुत्थानका लागि तपाइँले के के काम गर्नुभयो ? 

    कोभिड–१९ को महामारीको समयमा यो क्षेत्रको वास्तविक अवस्था थाहा पाउन र यसको बारेमा सरकार तथा अन्य सरोकारवालालाई जानकारी गराउन मैले मिडिया संयोजनको काम गरे । 

    त्यसबाहेक योबीचमा नाट्टाको सचिवालयलाई चुस्तदुरुस्त राख्ने प्रयत्न गरेँ । महासचिव हुँदाको एपीजेसी कमिटीको नेतृत्व गरेँ । त्यसमा आएका आएका बीएसपी (बिलिङ एण्ड सेटलमेन्ट प्लान) सम्बन्धित धेरै काम गरेँ । कोरिया लगायत विभिन्न देशमा गएर कार्यक्रम आयोजना गरियो । 

    म महासचिव हुँदा त्यतिबेलाको कार्यसमितिले बुद्ध इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) जस्तो महत्वपूर्ण कार्यक्रम समेत गरेको थियो । यसबाट समेत ठूलो अनुभव प्राप्त गरेँ । त्यसबाहेक मेरो नेतृत्वमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा डिजिटल मार्केटिङ ट्रेनिङ दिएका थियौं । त्यसबाहेक सचिवालयमा ट्रेनिङ रुम स्थापना गरेर व्यवसायीहरुलाई तालिमको व्यवस्था गरेका थियौं ।  

    यी विभिन्न कारणले म आगामी कार्यकालको अध्यक्षको लागि योग्य छु र जित्छु जस्तो लाग्छ । 

    तपाइँले चुनाव जित्नुभयो भने आगामी कार्यकालमा तपाइँले यो क्षेत्रको विकासको लागि के के काम गर्नुहुन्छ ? 

    हामीले टीमको उम्मेदवारीसँगै घोषणापत्र सार्वजनिक गरेका छौं । त्यसमा हामीले गर्ने सबै कामहरु उल्लेख भएका छन् । सो घोषणापत्रमा खासगरी कोभिडका कारणले थलिएको पर्यटन व्यवसायीलाई ५ वर्षसम्म भ्याट छुट दिन पहल गर्ने, विदेशमा घुम्न जाने प्याकेज बनाउनका लागि अहिले भएको विदेशी मुद्रा सटहीको समस्या समाधान गर्ने, विदेश घुम्न जानको लागि हिँडेका व्यक्तिहरु एयरर्पोटबाटै फर्किनुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्य लिएका छौं । 

    त्यसैगरि एउटा मिडिया रिसर्च सेन्टरको स्थापना गर्ने लक्ष्य छ । यसले पर्यटनसम्बन्धी तथ्यांकलाई व्यवस्थित गर्ने र यो क्षेत्रका गतिविधिलाई प्रवद्र्धन गर्ने काम गर्छ । हरियो नम्बर प्लेटका पर्यटन भेहिकलमा देखिएका करसम्बन्धी समस्या अन्त्य गर्न पहल गर्ने हाम्रो अर्को लक्ष्य छ । पर्यटक बसको एराइभल डिपार्चरका लागि टर्मिनलको व्यवस्था गर्ने समेत हाम्रो लक्ष्य रहेको छ । 

    वर्तमान अध्यक्षको एजेन्डालाई तपाइँले निरन्तरता दिन्छु भन्नुभएकोले यहाँको समर्थन तपाइँलाई छ भन्ने सुनिन्छ । निरन्तरता दिनुपर्ने अहिलेका एजेन्डाहरु चाहिँ के के हुन् ? 

    जोसुकै व्यक्ति अध्यक्षमा नियुक्ति भए पनि पूर्व कार्यसमितिले गरेका कार्यहरुलाई नै अगाडि बढाउँदै लैजाने हो । असिमित उत्तराधिकारीवाला संस्थाको यो नै पद्दति हो । 

    वर्तमान अध्यक्षले बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्ट (बीआईटीएम) स्थापनाको एजेन्डा लिनुभएको थियो । त्यस्तै, कोभिड महामारीपछिको पुनर्उत्थानको क्रियाकलापलाई बढाउने, देशका सबै प्रदेशमा ट्राभल मार्टका कार्यक्रहरु आयोजना गर्ने लगायत कामहरु छन् । यी कार्यहरुलाई म अध्यक्ष भएको अवस्थामा निरन्तर रुपमा अघि बढाउनेछु । 

    मैले यसअघि भनेका कामहरुमध्ये अधिकांश कामहरु वर्तमान अध्यक्षले सुरु गर्नुभएका र योजना बनाउनुभएका हुन् । उहाँले पाइपलाइनमा राख्नुभएका कामलाई सफलतापूर्वक सम्पन्न गर्नु नै मेरो प्रमुख जिम्मेवारी हो । 

    चुनावमा उठिसकेपछि जित्ने आधार पनि हुन्छ होला । गणितीय रुपमा हेर्दा तपाइँले कति मत प्राप्त गर्छु भन्ने लाग्छ ? 

    हाम्रो नाट्टा भनेको एउटा गैरराजनीतिक संस्था हो । यसको नेतृत्वमा जाने भनेको विशुद्ध पर्यटन व्यवसायी नै हुन् । तसर्थ मैले विगतमा गरेको कामको आधारमा पर्यटन व्यवसायीले मतदाताले मुल्यांकन गनुहुनेछ । र, यहाँ मिडियाकर्मीहरुले पनि मेरो योगदानको मुल्यांकन गर्न सक्नुहुनेछ । 

    यो व्यक्तिले संस्थालाई योगदान गर्नसक्छ र हाम्रो समस्यालाई समाधान गर्नसक्छ भन्ने विश्वास भए मतदाताले अवश्य पनि मत दिनुहुनेछ । यही विश्वासका आधारमा म लगायत मेरो टीमलाई उहाँहरुले मतदान गरेर नेतृत्वमा पुर्याउनु हुनेछ र यो क्षेत्रको प्रवद्र्धनका लागि थप कार्य गर्ने अवसर दिनुहुनेछ भन्ने विश्वास रहेको छ । 

    तपाइँको प्रतिस्पर्धीको रुपमा विनय बस्नेत उभिनुभएको छ । प्रतिस्पर्धीको बारेमा के भन्न चाहनुहुन्छ ?

    प्रतिस्पर्धीको बारेमा मेरो व्यक्तिगत रुपमा मेरो भन्नु केही छैन । उहाँसँग पनि मैले मलाई अगाडि जान दिनुस् भन्ने आग्रह गरेको थिएँ । उहाँले आफैं जाने इच्छा गर्नुभयो । यो स्वभाविक पनि हो । 

    चुनाव भनेको एक हप्ताको डिस्कसन मात्रै हो । हामी फेरि एक भएरै काम गर्ने हो । नेतृत्वमा उहाँ गएपनि, म गएपनि नेतृत्व गर्ने एउटै काम एउटै हो । यही क्षेत्रको प्रवद्र्धन र आइपरेका समस्याहरुको समाधानका लागि नै काम गर्ने हो । 

    तपाइँले नाट्टालाई गैरराजनीतिक संस्था भन्दैगर्दा यहाँ पनि लोकतान्त्रिक समुह,  प्रगतिशील समुह भनेर विभाजन त भयो नि होइन ? 

    राजनीतिक आस्था सबैको आफ्नो ठाउँमा हुन्छ । तर हामी व्यवसायीहरुको संस्थामा कुनै पनि पोलिटिकल एजेन्डा लिएर पनि जादैनौँ । नाट्टा विशुद्ध गैरराजनीतिक संस्था हो र यही रुपमा रहनेछ । 

    तपाइँहरुको घोषणापत्र लगभग उस्तै छ, मतदाताले के हेरेर भोट दिने ? 

    हामीले सबैभन्दा पहिला घोषणापत्र सार्वजनिक गरेका हौं । हामी हाम्रो एजेन्डा र कामहरुमा प्रष्ट छौं, यो तपाइँहरु आफैंले बुझ्न सक्नुहुन्छ । विपक्षीको कस्तो घोषणापत्र आयो, उहाँहरुले के प्रतिवद्धता जनाउनुभयो त्यो उहाँहरुको कुरा हो । 

    एउटा पदका लागि धेरै आकांक्षी भएपछि लोकतान्त्रिक प्रक्रिया अनुसार मतदानमा जानु स्वभाविक नै हो । त्यही अनुसार हामीले यो प्रक्रियालाई स्वभाविक रुपमै लिएका छौं । 

    ramesh thapa team.jpg

     


    images
    images

    Logo