काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले साढे १० करोड लगानीमा ढललाई व्यवस्थापन गर्न निर्माण कार्यको शिलान्यास गरेका छन् । १० करोड ५३ लाखमा ठेक्का सम्झौता गरिएको उक्त निर्माण कार्यको शिलान्यास मंगलबार खानेपानी मन्त्रीले गरेका हुन् ।
प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशको सरकारी निवास र नेपालराष्ट्र बैंकको केन्द्रीय कार्यालय परिषर क्षेत्रमा प्रत्येक वर्ष आउने बर्षात्को फोहोर पानी र ढललाई व्यवस्थापन गर्न शुरु भएको निर्माण कार्यको मंगलबार शिलान्यास गर्दै मन्त्री चौधरीले अब ढलको समास्या समाधान हुने बताएका छन् ।
काठमाडौं महानगरपालिका वडा नं २, ३ र ४ को क्षेत्रमा रहेको ढलको समस्या समाधान गर्ने उदेश्यले निर्माण हुन लागेको ढल व्यवस्थापन कार्यको शिलान्यास गर्दै मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा मुलुकको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार भित्र र बाहिर पनि ढलको व्यवस्थापनको कार्य अघि बढाईने बताए ।
‘आगामी आर्थिक वर्षमा सिंहदरबार भित्र र वरिपरीको क्षेत्रमा देखिएको ढलको समस्यालाई व्यवस्थापन सिंहदरबार पुन निर्माण गुरुयोजनालाई असर नपर्ने गरी काम अघि बढाउँछौं’, मन्त्रीचौधरीले भने, ‘महत्वपूर्ण स्थानहरुमा देखिएको फोहोर पानी र ढलको व्यवस्थापनको कार्य सरकारले अगाडि बढाउने छ ।’
निर्धारित समय अगाडि नै ठेक्काको जिम्मेवारी पाएको निर्माण व्यवसायीले काम सम्पन्न गरेमा सरकारबाट ‘बोनस’पाउने र स्थानीय वासिन्दा तथा बालुवाटार क्षेत्रको सडक प्रयोगकर्ताले सुविधा पाउने मन्त्री चौधरीले बताए । मन्त्री चौधरीले निर्धारिक समयभन्दा अगाबै र गुणस्तरमा कुनै सम्झौता नगरी काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै स्थानीय वडाका जनप्रतिनिधिको साथ र सहयोगबाट आयोजना सम्पन्नहुने विश्वास व्यक्त गरे ।
खानेपानी सचिव सुरेश आचार्याले प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र र काठमाडौं महानगर पालिकाका तीन वटा वडाका वासिन्दाले आयोजना सम्पन्न भएपछि ढलको समस्याबाट मुक्ति पाउने भन्दै सडक प्रयोगकर्ताले पनि सुविधापाउने बताए ।
सचिवआचार्याले १ हजार दुई सय मिटर लामो ढल बालुवाटार क्षेत्रबाट वडा नं २ को सुकुनामार्ग हुँदै टुकुचामा पुर्याइने बताए ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले प्रधानमन्त्री निवाससहित भिभिआईपीको सरकारी निवास क्षेत्र र महानगरको २,३ र ४ का ९ हजार २ सय ४६ घर परिवारले आयोजनाबाट लाभान्वित हुने बताए ।
निर्देशक सापकोटाले सो आयोजनालाई १५ महिनाभित्र सम्पन्न गर्ने गरी समानान्तर निर्माण कम्पनीलाई १० करोड ५३ लाखमा ठेक्का सम्झौता गरिएको बताए । समानान्तर निर्माण कम्पनीका अध्यक्ष अच्युत प्रसाद खरेलले आयोजना कर्यान्वयन निर्देशनालयले तोकेको अधिकतम लागत १९ करोड २९ लाख भन्दा कममा आफूहरुले घाटा खाएर ठेक्का लिएपनि आगामी वर्षातको समय अघि नै गुणस्तरमा सम्झौता नगरी काम गर्ने बताए ।



