images
images

एकैपटक २१ सुरुङमार्गको अध्ययन हुँदै


  • 521
    SHARES
  • २०७८ फाल्गुण १९ गते बिहीबार

    एकैपटक २१ सुरुङमार्गको अध्ययन हुँदै

    काठमाडौं । सरकारले एकैपटक देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ ।यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८र७९ मा त्यस्तो संख्या वृद्धि गरी २१ सुरुङमार्गको अध्ययन गर्न थालिएको हो । 

    विकसित मुलुकमा सुरुङमार्ग निर्माण कार्यले तीव्रता पाए पनि नेपालमा सुरुङमार्ग निर्माणले गति लिन सकेको छैन । अहिलेसम्म थानकोट–नागढुंगा सुरुङमार्गको मात्र निर्माण कार्य भइरहेको छ । यद्यपि सुरुङमार्ग निर्माण गर्ने आवाज आजको भने होइन । तत्कालीन सरकारले २०७६ मा ११ सुरुङमार्गको अध्ययन गर्ने लक्ष्य राखेको थियो ।

    सुरुङमार्ग निर्माणमा उच्च लागत र प्रविधि आवश्यक पर्छ । १ किलोमीटर सुरुङमार्ग बनाउन न्यूनतम ३ अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्छ । तर, यस्तो निर्माण कार्यले भौतिक पूर्वाधारको विकास मात्र नभई अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउने भएकाले निर्माण गर्नुपर्ने अधिकारीहरू बताउँछन् । सडक विभागका प्रवक्ता शिव नेपाल सुरुङमार्गले अर्थतन्त्रलाई टेवा दिने भएकाले तीमध्ये केही जतिसक्दो छिटो निर्माण गर्न आवश्यक रहेको बताउँछन् ।

    ट्राफिक व्यवस्थापन सहज बनाउने कोटेश्वर–जडीबुटी, दाउन्ने–बर्दघाट, खुर्कोट–चियाबारी र धरानको लेउती सुरुङमार्ग निर्माणलाई विभागले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । अन्य सुरुङमार्गको पहिचान र प्रारम्भिक अध्ययन भइरहेको उनले बताए । नेपालका कुन–कुन भागमा सुरुङमार्ग आवश्यकता छ भनी पहिचान गरिएको उल्लेख गर्दै उनले आवश्यकताअनुसार सम्भाव्यता अध्ययन अघि बढाइएको जानकारी दिए ।

    आगामी पुसदेखि निर्माण शुरू गरिने सिद्धबाबा सुरुङमार्गसहित अध्ययन अघि बढाइएका सुरुङमार्गमा लामाबगर, धरान–लेउती, टोखा–छहरे–गुर्जेभञ्ज्याङ, कोटेश्वर–जडीबुटी, दुम्कीबास–बर्दघाट छन् । त्यस्तै हेम्जा–नयाँपुल, कुशेपाटन–ब्याउली ढुंगा–इमिलचाखोला, बाग्लुङ–ब्युँ–नरेठाँटी, कुलेखानी–भीमफेदी, खुर्कोट–चियाबारी, मझिम्टार–शक्तिखोर, थानकोट–चित्लाङ, प्रवास–जोर्ते सुरुङमार्गको अध्ययन अघि बढाइएको विभागले जानकारी दिएको छ ।

    रसुवागढी–बेत्रावती, बबई–छिन्चु, ताथली–रबीओपी, गोदावरी–मानचौर, दुम्लिङ–वासपाङ (चेपाङमार्ग), फस्रेखोला–छोरेपाटन र राजदुवोल–सुनमाई सुरुङमार्गको अध्ययन पनि अघि बढेको छ ।

    विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार यी सुरुङमार्गमध्ये अधिकांशको प्रारम्भिक सम्भाव्यता अध्ययन नेपालले नै गर्नेछ । केन्द्रका सिनियर डिभिजनल इन्जिनीयर (सीडीई) सौरभ वज्राचार्यले विभागले अघि सारेका सुरुङमार्गमध्ये केहीको चीन, जापान र स्वीस सरकारको सहयोगमा अध्ययन हुने बताए । 

    रसुवागढी–बेत्रावती र टोखा–गुर्जेभञ्ज्याङको चीन, कोटेश्वर–जडीबुटी र खुर्कोट–चियाबारीको जापानको जाइका, थानकोट–चित्लाङ सुरुङमार्ग स्वीस सरकारले अध्ययन गर्ने उनले जानकारी दिए ।

    हाल ठेक्का सम्झौताको तयारीमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माण भने आगामी पुसदेखि शुरू हुने भएको छ । कम्पनीले ५ वर्षभित्रमा सम्पन्न गर्ने गरी प्रस्तावित बिडका १३ प्रतिशत कम कबोल गरी रू। ७ अर्ब ३४ करोडमा निर्माणको जिम्मा लिएको छ ।

    कम्पनीसँग ठेक्का सम्झौता भएको ९ महीनामा उसले डिजाइन, माटोको अनुसन्धान तथा अन्य अध्ययन गर्नेछ । ५ वर्षमा सुरुङमार्ग बनाइसक्नुपर्नेछ । केन्द्रको इस्टिमेट लागत ९ अर्ब ४ करोड थियो । आर्थिक अभियान दैनिकबाट


    images
    images

    Logo