काठमाडौं । नेपाल सरकारले पटकपटक अनुरोध गरेपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार गर्ने काममा सघाउन तयार भयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा जापानका विज्ञले अध्ययन गरे। दर्जनौं पटक नेपाली टोली जापान गए। जापानी अधिकारी नेपाल आए। चरणचरणमा छलफल गरेपछि परियोजनाको अध्ययन भयो।
जाइका परियोजना कार्यान्वयन गर्न तयार भयो। परियोजना सम्झौता गरेर निर्माण चरणमा प्रवेश गर्न लाग्दा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले परियोजनाको लागत महँगो भएको भन्दै रोके। जापानले ४० वर्षमा तिर्ने गरी ०.०१ प्रतिशत ब्याजमा सडक बनाउने प्रस्ताव गरेको थियो।
त्यसपछि महासेठकै पार्टी नेकपा एमालेबाट वसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बने। महासेठले रोकेको सडक बनाउन आवश्यक छ भन्दै नेम्वाङले अघि बढाउने प्रयत्न गरे। उनले नेपालका लागि जापानका राजदूतलाई पनि पटकपटक अनुरोध गरे।
मन्त्री मात्र नभएर सडक विभागका सबै अधिकारी सडक बनाउनुपर्ने पक्षमा उभिए। लामो समय र ठूलो धनराशि खर्च गरेर अध्ययन गरेको परियोजना रोक्ने मन्त्री महासेठको निर्णयबाट जापानी टोली बिच्किए। त्यसपछि नेपाल सरकारले अनुरोध गरे पनि उक्त परियोजना अघि बढाउन जापान तयार भएको छैन।
मन्त्रालय स्रोतका अनुसार जाइकाले करिब २३ अर्ब रूपैयाँ लागत प्रस्ताव गरेको थियो। केही महँगो भए पनि जापानले गुणस्तरीय र व्यवस्थित पूर्वाधार बनाउने भएकाले जाइकाको सहयोगमा बनाउँदा उपयुक्त हुन्थ्यो, मन्त्रीको लहडमा परियोजना रोकियो– उनीहरू टिप्पणी गर्छन्।
जाइकाले सूर्यविनायक–धुलिखेल सडक विस्तार गरी ६ लेन ९सवारीसाधनका लागि ४ लेन र दुई सर्भिस लेन० बनाउने तयारी थियो। छिटो र दु्रतगतिमा सवारीसाधन चलाउन साँगामा सुरुङमार्ग बनाउने प्रस्ताव थियो। सडक करिब १५ किलोमिटर र सुरुङ एक दशमलव २९ किलोमिटर लम्बाइको बनाउने योजना थियो। सुरुङभित्र दुई लेन र त्यसको चौडाइ साढे तीन मिटर रहनेगरी अध्ययन भएको थियो। सडकको डिजाइन स्पिड ८० किलोमिटर र साँगा क्षेत्रमा ६० किलोमिटर प्रतिघन्टा रहने प्रस्ताव थियो। नागरिक दैनिकबाट



