काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि चैत १५ गतेदेखि निर्वाचन आचारसंहिता सुरु हुने भएको छ । निर्वाचन आयोगले मंगलबार २६ बुँदे निर्देशन जारी यस्तो व्यवस्था गरेको हो ।
यसअनुसार चैत १५ गतेदेखि कुनैपनि कर्मचारीको सरुवा गर्न तथा काजमा खटाउनु परेमा निर्वाचन आयोगको पूर्व स्वीकृति लिनु पर्नेछ । अहिले पद रिक्त रहेका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीको चैत १५ गते अगावै पदपूर्ति गर्न समेत आयोगले सरकारलाई निर्देशन दिएको छ ।
सरकारले २०७९ बैशाख ३० गतेका लागि ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन घोषणा गरेको छ । सरकारको घोषणासँगै आयोगले निर्वाचनको तयारी तीव्र बनाएको छ । यसैबीच न्यायपरिषद्को बैठकले निर्वाचनका लागि प्रत्येक जिल्लामा निर्वाचन अधिकृत नियुक्त समेत गरिसकेको छ ।



