काठमाडौं । नेपाल राष्ट्र बैंकले पुर्वाधार विकास बैंकका लगि फेरी अर्को निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले बुधबार सो बैंकलाई जारी गरेको निर्देशन २०७८ मा संशोधन तथा परिमार्जन गरेको हो ।
राष्ट्र बैंकले संशोधन तथा परिमार्जन गरेको निर्देशनमा पूर्वधार विकास बैंकले डिबेञ्चर तथा अन्य उपकरणहरु जारी गर्ने सम्बन्धी व्यवस्था उल्लेख गरेको छ । पुर्वाधार बैंकले अब प्राथमिक पुँजीको शत प्रतिशतसम्म डिबेञ्चर तथा अन्य उपकरणहरु जारी गर्न सक्ने भएको छ ।
पूर्वाधार विकास बैंकले बढीमा आफ्नो प्राथमिक पुँजीको शत प्रतिशतसम्मको डिबेञ्चर÷अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि यस बैंकमा निवेदन पेश गर्नु पर्नेछ । त्यस्तो निवेदन माथि आवश्यक छानबिन गरी राष्ट्र बैंकले डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्ने स्वीकृति दिनेछ ।
डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्दा पूर्वाधार बैंकले निष्काशन गरिएको आर्थिक वर्ष र भुक्तानी हुने आर्थिक वर्ष वाहेकका प्रत्येक वर्ष वार्षिक मुनाफाबाट समानुपातिक आधारमा रकम भुक्तानी कोष अनिवार्य रुपमा राख्नु पर्नेछ ।
तर, आर्थिक वर्षमा जम्मा गर्नु पर्ने रकम उक्त वर्ष पश्चातका आर्थिक वर्षहरुमा थप गरी समानुपातिक आधारमा अनिवार्य रुपमा उक्त कोषमा जम्मा गर्नु पर्ने छ । पूर्वाधार बैंकले स्रोत परिचालनमा गणना हुने गरी ऋणपत्र जारी गरेमा भुक्तानी कोष मा भने रकम जम्मा गर्न पर्ने छैन ।
उक्त बैंकले ऋणपत्र जारी गर्दा नै पुँजी कोषको अङ्गको रुपमा रहने वा स्रोत परिचालनमा गणना हुने व्यहोरा स्पष्ट रुपमा खुलाउनु पर्नेछ । बैंकले यसअघि जारी गरिएका वा यस बैंकबाट स्वीकृति प्राप्त गरी जारी हुने प्रक्रियामा रहेका ऋणपत्रलाई सोही बमोजिम छुट्याउनु पर्नेछ । एकपटक ऋणपत्रको वर्गीकरण गरेपछि पुनःपरिवर्तन गर्न नपाउने राष्ट्र बैंकले जनाएको छ ।
पूर्वाधार विकास बैंकले सम्बन्धित निकायबाट स्वीकृति लिई उर्जा ऋणपत्र पनि जारी गर्न सक्नेछन् । उर्जा ऋणपत्र जारी गरी संकलन गरिएको रकमबाट लगानी गरिएको उर्जा परियोजनाको विवरण अध्यावधिक गर्नु पर्ने उक्त सर्कुलरमा उल्लेख गरिएको छ ।



