राजधानीमै वर्षौदेखि सडेका पाउरोटीबाट कुकिज बन्छ भने अन्य दुर दराजको अवस्था कस्तो होला । महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुर नगरपालिका–२७ सुनाकोठीस्थित पाउरोटी र कुकिज बनाएर बेच्ने स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनीमा छापा मार्दा वषौं अघि म्याद गुज्रिएका पाउरोटीबाट कुकिज बनाएको तथ्य फेला परेको हो ।
एक महिनाअघि नक्कली मह बनाएर बेचेको आरोपमा पक्राउ परेका नर बहादुर श्रेष्ठले नै यो कम्पनि पनि संचालन गर्दै आएको प्रहरीले जनाएको छ । महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक कृष्ण कोइरालाका अनुसार, कम्पनीले बजारबाट फिर्ता भएका मिति गुज्रेका पाउरोटी र कुकिजको धूलो बनाएर फेरि त्यसैको कुकिज, टोस्ट तथा बिस्कुट बनाएर बिक्री वितरण गरेको फेला पारेको हो ।
प्रहरीले छापा मार्ने क्रममा दुई वर्ष अघिनै मिति सकिएको कुकिजलाई समेत फेरी धुलो बनाएर कुकिज बनाएको पाइएको कोइरालाले बताए । घट्नास्थल पुगेर अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीका अनुसार, अत्यधिक सडे गलेका पाउरोटी समेत सुकाएर पुनः कुकिज बनाउने गरेको पाइएको छ ।
त्यसरी मिति गुज्रेका पाउरोटीको धूलो बजारमा क्रन्ची चिकेन, रोस्ट बनाउन प्रयोग हुने गरेको प्रहरीको भनाई छ । ती दुवै उद्योगबाट ५४ कार्टुन भेनेगर, ३० कार्टुन क्रसर पाउडर, ७ कार्टुन सुप, ३ सय ८५ बोरा अजिना मोटोलगायतका अखाद्य सामग्री समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
श्रेष्ठले संचालन गरेको स्पर्श फुड सहित श्रीतारा फुड्स एण्ड प्याकेजिङ प्रालिले खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति समेत नलिएको जनाइएको छ । दुसित र म्याद गुज्रेका खाद्य सामाग्री उत्पादन गरेको भन्दै खाद्य तथा गुण नियन्त्रण विभागले दुवै कम्पनीमा सिल गरेको छ ।
सिन्धुपाल्चौक बाडेगाउँ गाउँपालिका–१ घर भई हाल काठमाडौं ज्याठामा बस्दै आएका ४४ वर्षिय नरबहादुर श्रेष्ठलाई गुणस्तरहिन मह उत्पादन गरेको अभियोगमा महाशाखाले गत माघ ६ गते पक्राउ गरेको थियो । छापामार्ने क्रममा तीन वर्ष पुराना कुकिजबाट पुनः कुकिज, बटर चकलेट, काजु कुकिज बनाउँने गरिएको पाइएको थियो ।



