images
images

धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालक


  • 248
    SHARES
  • २०७८ फाल्गुण ८ गते आइतबार

    धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालक

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नाका साथै अन्यको पनि खारेज हुने चेतावनी दिएसँग अहिले क्यासिनो सञ्चालकले धामाधम रोयल्टी तिर्न थालेका छन् । 

    पर्यटन विभागका अनुसार हाल सम्म कम्तिमा पनि १७ कम्पनीले रोयल्टी तिर्नु पर्ने बक्यौता बुझाएका छन् । सेन्ट्रल मिडिया प्रालिले  ५ करोड रुपैयाँ मध्ये ४ करोड बक्यौता बुझाएसँगै हाल सम्म सरकारको खातामा  ७६ करोड ४५ लाख रपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए । 

    उनले भने, “रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्नु भन्ने मन्त्रीज्यूको आदेशपछि, अहिले क्यासिनो सञ्चालकले धमाधम रोयल्टी तिर्दैछन् करोडौँ रकम जम्मा भएको छ ।” उनका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकहरुले तिर्नुपर्ने जम्मा रकम १ अर्ब ११ करोड ८४ लाख ४७ हजार रपैयाँ मात्रै रहेको छ । 

    यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौंसम्म पनि नतिर्ने काठमाडौँको दरबारमार्गमा रहेको होटल याक एन्ड यतीको लाइसेन्स खारेज गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न सुरु गरेको विभागको दाबी छ । मन्त्री आलेकै निर्देशनपछि विभागले रोयल्टी नतिर्ने क्यासिनो सञ्चालकको तीनपुस्ते विवरणसमेत सार्वजनिक गरेको छ । 

    अब ६ कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । त्यसमध्ये एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुईवटा होटलमा गरेर १४ करोड रपैयाँ बाँकी रहेको र उक्त होटलको बैंक जमानत रहेकाले असुलउपर गर्न समस्या नरहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिए । 

    यसैगरी सेन्ट्रल मिडिया प्रालिले  १८ करोड ९० लाख रुपैयाँ, ह्याप्पी आवर प्रालि, होटल याक एन्ड यति (क्यासिनो रोयल), रक इन्टरनेशनल, ओरियन्टल होटल्ससमेत गरी जम्मा १ अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको जनाइएको छ ।


    images
    images

    Logo