काठमाडौं । काठमाडौँमा एक सातादेखि फोहोर उठ्न छाडेको छ । सडक कालोपत्रे गर्न माग गर्दै सिसडोल ल्याण्डफिल साइट क्षेत्रका स्थानीयवासीले सडक अवरुद्ध गरेपछि १ फागुनदेखि फोहोर ढुवानीमा अवरोध भएको महानगरले जनाएको छ ।
एक सातादेखि फोहोर उठ्न नसकेपछि काठमाडौं महानगरपालिकाले शनिबार सार्वजनिक सूचना जारी गरेर कुहिने फोहोरको आफैँ व्यवस्थापन गर्न भनेको छ । महानगरको वातावरण विभागको सूचनामा भनिएको छ, ‘हाललाई सम्पूर्ण उपत्यकाबासीले आआफ्नो घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुनिे र नकुहिने गरी छुट्टयाई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नहुन अनुरोध गरिन्छ ।’
महानगरले नकुहिने फोहोर पनि सडकमा जथाभावी नफाल्न र फोहोर लिन आउने गाडीमा राखेर पठाउन भनिएको छ ।
अहिले कउपत्यकाका १८ वटा नगरपालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। निजी र महानगरपालिका गरी दैनिक दुई सयभन्दा बढी टिपर र ट्रकले नुवाकोटको ककनी गाउँपालिका(२ को सिसडोल फोहोर लैजाने गर्छन्। दैनिक दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजार टनभन्दा बढी फोहोर फालिरहेका छन्।



