images
images

शेयर बजारलाई प्रभावित गर्नेगरी एफएनसीसीआईको विज्ञप्ती


  • 956
    SHARES
  • २०७८ फाल्गुण ८ गते आइतबार

    शेयर बजारलाई प्रभावित गर्नेगरी एफएनसीसीआईको विज्ञप्ती

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शेयर बजारमा असर गर्नेगरी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । शनिबार विज्ञप्ती जारी गर्दै महासंघले मौद्रिक नीतिले शेयर बजार प्रभावित हुने जनाएको हो । 

    महासंघले राष्ट्र बैंक ब्याजदर बढाउन केन्द्रित भएको र शेयर कर्जामा समेत कडाइ गरिएको भन्दै यसले शेयर बजारका ४९ लाख लगानीकर्तालाई प्रभावित बनाएको उल्लेख गरेको छ । 

    मौद्रिक नीतिको समीक्षाले अल्पकालीन ब्याजदरमा वृद्धि गर्ने र अनुत्पादक क्षेत्रमा जाने कर्जाको मार्जिन बढाउनेगरी नीति तय गरेको थियो । यसको प्रभाव शेयर बजारमा सकारात्मक नहुने भए पनि शेयर बजारमा यसले ठूलो असर नगर्ने विश्लेषण गरिँदै आएको थियो । तर, महासंघको विज्ञप्तीले बजार थप प्रभावित हुने देखिएको छ । 

    उक्त विज्ञप्तीमा महासंघले राष्ट्र बैंकको व्याजदर बढाउने नीतिकै कारण यसले व्यवसायी र वित्तीय संस्थामा समेत समस्या देखिने सम्भावना बढेको जनाएको छ । त्यस्तै, बढ्दो आयात निरुत्साहित गर्न मौद्रिक नीति केन्द्रित हुँदा यसले उत्पादन, मुल्यवृद्धि, राजस्व र रोजगारीमा नकारात्मक असर पर्नेतर्पm महासंघ केन्द्रिय बैंकको ध्यानाकर्षण गराउन जनाएको छ । 

    कोभिडको तेस्रो लहर कायमै रहेको भन्दै यस्तो अवस्थामा पुर्नकर्जाको ब्याजदर समेत बढाइदिँदा साना तथा मझौला उद्यमी प्रभावित हुने महासंघको दाबी छ ।   

    मौद्रिक नीतिको समिक्षामा ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने भन्ने नीतिले सो क्षेत्रमा जाने ब्याजदर वृद्धि हुने समेत महासंघको भनाइ छ । 

    निर्यात प्रवद्र्धन र मुलुकभित्र रकम भित्र्याउन अन्य उपाय अवलम्बन नगरी राष्ट्र बैंक आयात नियन्त्रणमा केन्द्रित भएको भन्दै यसले अनधिकृत व्यापार बढनुका साथै मुल्य समेत अकाशिने प्रक्षेपण महासंघको छ । 

    उत्पादनमूलक उद्योगलाई कम ब्याज दरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने बिषयलाई सकारात्मक लिनुबाहेक महासंघले मौद्रिक नीतिका अरु सबै व्यवस्थाप्रति असन्तुष्टि जनाएको छ । समीक्षाका सन्दर्भमा आफूहरुले दिएको सुझाव कार्यान्वयन नभएकोमा समेत विज्ञप्तीमा असन्तुष्टि व्यक्त गरिएको छ । उल्लेखित विषयमा राष्ट्र बैंकले लिएको नीति पुनरावलोकन गर्न समेत महासंघले माग गरेको छ ।


    images
    images

    Logo