भक्तपुर । सूर्यविनायक नगरपालिकाको सञ्चालनमा भक्तपुरको जगातीमा २५ शैयाको सुविधासम्पन्न अस्पताल सञ्चालनमा आएको छ । शनिबार पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो अस्पतालको उद्घाटन गरेका हुन् ।
भक्तपुर इँटा टायल कारखाना रहेको सो क्षेत्रमा पाँचवटा भवनसहितको पूर्वाधारमा उक्त अस्पतालको निर्माण भएको हो । अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आईसीयू तथा भेन्टिलेटर कक्ष, एचडीयू, ओपिडी, जनरल वार्डलगायतका संरचना निर्माण भएका छन् ।
नगरपालिकामा रहेका आफ्नै जनशक्ति र नेपाल सरकारले पठाएका चिकित्सकको टोलीबाट अस्पतालको सेवा सुरु गरिएको छ ।
केन्द्रीय सरकारबाट आएको ७५ लाख, तात्कालिन सांसद विकास कोषको रकम र सूर्यविनायक नगरपालिकाको बजेट गरी करिब ८ करोडको लागतमा अस्पताल सञ्चालनमा ल्याइएको हो ।
अरनिको राजमार्गको छेउमा रहेको उक्त अस्पाताल नगरवासीका साथै राजमार्गमा हुने दुर्घटनाबाट घाइते हुनेहरुको शीघ्र उपचारका लागि सहयोग पुग्ने मेयर वासुदेव थापाले बताए । सो अस्पतालबाट नेपाल सरकारको स्वास्थ्य बीमा सेवा समेत उपलब्ध हुनेछ ।
अहिले नगरपालिकाले वडा नं ५ दधिकोटको स्वास्थ्यचौकीको स्तरोन्नति गरेर १० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिरहेको छ । जगातीमा नगर अस्पताल सञ्चालन भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्यचौकीमा अतिरिक्त सङ्ख्यामा रहेका स्वास्थ्यकर्मी एवं जनशक्तिलाई अस्पतालमा ल्याएर जनशक्ति व्यवस्थापन गर्ने तयारी अस्पतालले गरेको छ ।



