काठमाडौं । घरजग्गाको मूल्य बढ्छ भन्ने जनताको अपेक्षा घटेको छ । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासका लागि गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणले घरजग्गा तथा आवास क्षेत्रको मूल्य बढ्ने अपेक्षा कम हुँदै गएको देखाएको हो ।
रिपोर्ट अनुसार कुल सहभागीमध्ये ७६.४ प्रतिशतले जग्गाको मूल्य बढ्ने अपेक्षा गरेका थिए । बाँकी २१.३ प्रतिशतले मूल्यमा घटबढ हुँदैन भन्ने अपेक्षा रहेको बताएका थिए भने बाँकी २.४ प्रतिशतले मूल्य घट्छ भनेका थिए ।
गत असोजमा पनि राष्ट्र बैंकले यस्तै सर्भेक्षण गरेको थियो । उक्त सर्भेक्षणमा ७९ प्रतिशतले मूल्य बढ्छ भन्ने अपेक्षा गरेका थिए । १९.८ प्रतिशतले स्थिर हुन्छ भन्ने बताउँदा १.२ प्रतिशतले मात्रै मूल्य घट्छ भनेका थिए ।
मूल्य बढ्छ भन्ने अपेक्षा गर्ने ७६.४ प्रतिशतमध्ये ३१.८ प्रतिशतले अहिलेभन्दा धेरै दरमा मूल्य बढ्छ भनेका थिए । ३० प्रतिशतले अहिलेकै दरमा बढ्छ भन्ने अनुमान गर्दा १४.६ प्रतिशतले वृद्धिदर अहिलेभन्दा कम हुन्छ भन्ने अपेक्षा गरेका थिए ।
अघिल्लो वर्ष माघमा भएको सर्भेक्षणमा भने मूल्य बढ्छ भन्ने अपेक्षा गरेका ७६.१ प्रतिशत सहभागीमध्ये ४३.६ प्रतिशतले अहिलेको भन्दा धेरै गतिमा जग्गाको मूल्य बढ्छ भन्ने अपेक्षा गरेका थिए । यो अहिले घटेर ३१.८ मा झरेको छ ।
राष्ट्र बैंकले १४ शहरका १७ वटा बजार केन्द्रलाई आधार बनाएर ७२० जना सहभागीलाई मूल्यको अपेक्षाबारे प्रश्न सोधेको थियो ।




