images
images

आजबाट सञ्चालनमा आयो सोलु करिडोरको प्रसारण लाइन 


  • 526
    SHARES
  • २०७८ फाल्गुण २ गते सोमबार

    आजबाट सञ्चालनमा आयो सोलु करिडोरको प्रसारण लाइन 

    काठमाडौं ।  सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ ।

    नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान ११.३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ । 

    सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३ सय २ वटा छ ।

    सोलु करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत तिंलामा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी,८ एमभिए क्षमताको सबस्टेसन निर्माण  गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६बाट सञ्चालनमा छ । तिंला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुने छ ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार छनोट भएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्था लगायतका कारण आयोजना निर्माणमा केही ढिलाइ भएको बताए।

    ‘सोलु नदी बेसिनमा निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको छ, निर्माण सम्पन्न भई वर्खाको समयम पूर्ण क्षमतामा चल्न नसकेको २३.५ मेगावाटको सोलु खोला र निर्माणाधीन जलविद्युत आयोजनाको प्रसारण पूर्वाधार अभावमा विद्युत प्रवाहको समस्या समाधान भएको छ’, घिसिङले भने ।

    ‘आयोजनाहरको विद्युत सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङलगायतका जिल्लामा हाम्रो आफ्नै उत्पादनबाट  आपूर्ति दिन सकिन्छ भने बढी भएको विद्युत ढल्केबर सबस्टेसनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो हुन्छ ।’

    उनले तिंला सबस्टेसनबाट विद्युत आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत सेवा भरपर्दो र गुणस्तरीय हुने साथै चुहावट पनि घट्ने उल्लेख गरे ।

    २३.५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला (दूधकोसी) ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत आयोजनाको विद्युत तिंला सबस्टेसनमा जोडिने छ । 

    यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजनासँग ३२५ मेगावाटको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ ।  

    सोलु करिडोर प्रसारण लाइनको निर्माणमा केही ढिला हुने देखिएपछि २३।५ मेगावाटको सोलु खोला जलविद्युत आयोजनाको विद्युत पोहोर फागुनबाट अस्थायी रुपमा ३३ केभी लाइनमा जोडिएको थियो ।

    प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका ४ मरुवामा करिब दुई वर्ष अवरोध भएको थियो ।  सोलु करिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै  ठूला समस्या  र अवरोध भोगिएको र यसबाट पाठ सिक्दै अन्य आयोजनाहरु निर्माण गरिनु पर्ने आयोजना प्रमुख जनार्दन गौतमले बताए ।

    प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७३को असोजबाट कार्यान्वयनमा आएको थियो ।


    images
    images

    Logo