काठमाडौं । ३२ सहसचिवको एकैपटक सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न जिम्मेवारीमा रहेका सहसचिवहरुको सरुवा गरेको हो ।
यसरी सरुवा हुनेमा अर्थ मन्त्रालय अन्तर्गत राजेश्वर ज्ञवाली, ढुण्डिराज निरौला र यज्ञराज कोइराला आएका छन् भने शोभाकान्त पौडेल बाहिरिएका छन् । ज्ञवाली यसअघि गृह मन्त्रालयमा थिए । निरौला सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयका सचिव थिए भने कोइराला प्रदेश १ लोक सेवा आयोगका सचिव थिए । उनीहरुलाई अर्थ मन्त्रालय अन्तर्गत तानिए पनि विभागीय जिम्मेवारी तोकिएको छैन ।
सरकारका विभागहरुमध्येकै शक्तिशाली मानिने आन्तरिक राजश्व विभागका महानिर्देशक पौडेललाई अर्थ मन्त्रालय अन्तर्गतबाट हटाएर सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको छ । राजश्व संकलन क्षमतामा कमजोर देखिएपछि उनलाई कारबाही स्वरुप सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा गरिएको हो ।



