काठमाडौं । काठमाडौंको कपनबाट लागु औषध ब्राउन सुगरसहित ३ युवक पक्राउ परेका छन् । सोमबार दिउँसो आकाशेधारामा लागुऔषध बिक्रिवितरण हुने गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पासाङ छिरिङ शेर्पा, खगेस खत्री र तेन्जिङ शेर्पा रहेका छन् । उनीहरू माथि खोजतलास गर्दा ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २२.१७ ग्राम फेला परेको थियो ।
प्रहरी सहायक निरीक्षक (असई) दिपक रावतको कमाण्डमा खटिएको प्रहरीले कपनस्थित सडकमा पासाङ छिरिङ शेर्पालाई शंकास्पद रुपमा फेला पारेको थियो । उनको कोठामा लगेर खानतलासी गर्दा ६ ग्राम ब्राउन सुगर फेला पारेको थियो । शेर्पाले आफूलाई खगेस खत्रीले सो ब्राउन सुगर राख्न दिएको बताएपछि शेर्पाकै सुराकीका आधारमा खत्रीलाई प्रहरीले गोपीकृष्ण हल नजिकबाट पक्राउ गरेको थियो ।
खत्रीले समेत तेन्जिङ शेर्पाले आफूलाई लागु औषध दिने गरेको बताएपछि महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमिल्सिनाको नेतृत्वमा गएको टोलीले तारकेश्वर नगरपालिका वडा नम्बर ११ बाट निजलाई पक्राउ गरेको हो । उनको साथबाट थप १६.८ ब्राउन सुगर बरामद गरिएको जनाइएकाे छ ।



