images
images

युएईमा अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री श्रेष्ठ युएई जाँदै


  • 449
    SHARES
  • २०७८ माघ २३ गते आइतबार

    युएईमा अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री श्रेष्ठ युएई जाँदै

    काठमाडौँ । रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ । युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ त्यसतर्फ जान लाग्नुभएको हो । 

    वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा युएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ युएई जान लागेको श्रम मन्त्रालयले जनाएको छ । 

    नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले आज नेपालका लागि (युएई) का राजदूत साइद हमदान अल नाकीसँग छलफल गरेका थिए । 

    छलफलमा उनले रोजगारीको प्रलोभनमा युएई गई अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरेका थिए । मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकालाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेलाई नेपाल फिर्ता गर्ने क्रममा युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए । 

    नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई युएई पुर्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ । 

    छलफलमा राजदूत साइदले अलपत्र परेका नेपालीलाई युएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेलाई पनि आवश्यक सहयोग गर्ने बताए । मन्त्री श्रेष्ठको युएई भ्रमणका क्रममा नेपाल–युएई संयुक्त समितिको बैठक पनि आयोजना हुनेछ ।


    images
    images

    Logo