काठमाडौं । विन लघुवित्तले शेयर बजारमा निरन्तर उचाइ हासिल गर्दै गएको छ । तात्कालिन नेपाल सेवा लघुवित्त र विन लघुवित्तबीच मर्जरपछि कारोबार खुलेको सो लघुवित्तको कारोबार सुरु भएको दिनदेखि नै सकारात्मक सर्किट लाग्न थालेको थियो । आजसम्म निरन्तर ९ दिन सर्किट लागेको सो लघुवित्तको मूल्य अहिले २ हजार रुपैयाँ नजिक पुगिसकेको छ ।
लघुवित्तको वित्तीय धरातललाई हेर्ने हो भने अहिले दिनप्रतिदिन मूल्य बढ्नुको कुनै कारण छैन । नेपाल सेवा लघुवित्त आफैंमा कमजोर वित्तीय अवस्था भएको लघुवित्त संस्था हो । मर्जरअघि यो कम्पनीको मूल्य ७÷८ सय रुपैयाँमा कारोबार हुँदै आएको थियो । यो लघुवित्त संस्थामा कम मध्येको एक हो । त्यसो त विन लघुवित्तसँगको एकीकृत कारोबारअघि असोज मसान्तको वित्तीय विवरण अनुसार यो लघुवित्तको प्रतिशेयर आम्नादी २९ रुपैयाँले नकारात्मक थियो ।
उता विन लघुवित्तले भने नियमित रुपमा वित्तीय विवरण नियमित रुपमा सार्वजनिक गर्ने गरेको छैन । यद्यपि कमजोर अवस्थामा रहेको नेपाल सेवासँग १ः०.७५ अनुपातको स्वाप रेसियोमा विलय भएको यो लघुवित्तलाई बलियो भएको मान्न सकिँदैन ।
त्यसो त पुँजीको हिसाब विन लघुवित्त निकै सानो थियो । यो कम्पनीको १ करोड ४६ लाख मात्रै पुँजी थियो । १ः०.७५ अनुपातमा स्वाप रेसियोको मर्जरपछि एकीकृत कम्पनीको पुँजी जम्मा १ करोड ९ लाख रुपैयाँले मात्रै थपिएको छ ।
उता स्वाप रेसियोका कारण एकीकृत भएको लघुवित्तको रिजर्भ पनि धेरैले बढेको छैन । १ करोड ४६ लाखको चुक्ता पुँजीमध्ये करिब ३७ लाख रुपैयाँ मात्रै रिजर्भमा गएको छ । आगामी वर्षको लाभांशमा यसले ०.५ प्रतिशत भन्दा कमको योगदान मात्रै गर्न सक्छ । त्यसैले आधारभूत हिसाबले यसले मूल्यमा उच्च वृद्धि गराउने सम्भावना छैन ।
मर्जरपछि बनेको कम्पनीको एउटा सकारात्मक पक्ष भनेको एफपीओ पारी गर्न पाउनु हो । आईपीओ जारी नभएको विन लघुवित्तसँग मर्जर गर्दा यो कम्पनीले अब संस्थापक र साधारणस शेयरको हिस्सा मिलाउन एफपीओ जारी गर्न सक्छ । तर, प्रिमियम मूल्यमा एफपीओ जारी गर्दा त्यसको मूल्य संस्थाको अहिलेको नेट वर्थले निर्धारण गर्छ जसमा संस्था कमजोर छ । त्यसैले एफपीओ जारी गर्न पाउँछ भन्दैमा पनि मूल्यमा धेरै ठूलो उछाल ल्याउने सम्भावना हुँदैन ।
तर, एकीकृत कारोबारपछि भने सो कम्पनीको शेयर अस्वभाविक ढंगले बढेको छ ।
किन बढ्दैछ मूल्य ?
सामान्य अवस्थामा हेर्दा दुई लघुवित्तको मर्जरपछि प्राप्त हुने सिनर्जी इफेक्टलाई मध्यनजर गरेर सो कम्पनीको शेयरमूल्य बढेको अनुमान गर्न सकिन्छ । त्यसबाहेक विन लघुवित्तलाई १ः०.७५ प्रतिशतको स्वाप रेसियोमा गाभ्दा प्राप्त भएको रिजर्भ र सूचीकृत नभएको शेयर भएको कारणले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने सम्भावनाका कारण मूल्य बढेको हुनसक्ने अनुमान गर्न सकिन्छ । तर, माथि उल्लेखित तर्कका आधारमा यस्तो अवस्था पनि देखिँदैन ।
अहिले यो कम्पनीको शेयरमूल्य १ हजार ९ सय ८१ रुपैयाँ छ । यो शेयर बजारमा सूचीकृत २ सय २५ कम्पनीमध्ये १६ औं र ४५ वटा सूचीकृत लघुवित्तमध्येको सातौं हो ।
अहिले उच्च शेयरमूल्य भएका लघुवित्त कम्पनीको वित्तीय विवरण निकै बलियो अवस्थामा छ । सबैभन्दा धेरै शेयरमूल्य भएको जीवन विकास लघुवित्त पहिलो त्रैमासमा वार्षिक १ सय १६ रुपैयाँ बराबरको प्रतिशेयर आम्दानी रहेको विवरण सार्वजनिक गरेको थियो ।
त्यस्तै, दोस्रो सर्वाधिक मूल्य भएको महिला लघुवित्तको प्रतिशेयर आम्दानी पनि दोस्रो त्रैमासमा १ सय १० रुपैयाँ भन्दा माथि छ । त्यस्तै, नेशनल माइक्रोफाइनान्सको ८३.६७ रुपैयाँ, फरवार्ड लघुवित्तको १ सय ८ रुपैयाँ, जनउत्थान लघुवित्तको ५५ रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सको ८ रुपैयाँ छ ।
अहिले ५८ रुपैयाँ प्रतिशेयर आम्दानी भएको मिथिला लघुवित्तको मूल्य विनको भन्दा कम छ । सपोर्ट माइक्रोफाइनान्सको भने ८ रुपैयाँ प्रतिशेयर आम्दानी भएर पनि मूल्य तुलनात्मक रुपमा बढी छ ।
त्यसैले विनको अहिले उचालिँदै गएको मूल्यको कारण चलखेल नै भएको विष्लेषण विज्ञहरुको छ ।



