images
images

हिमपातले अवरुद्ध दुई राजमार्ग सञ्चालनमा, एक अझै अवरुद्ध


  • 415
    SHARES
  • २०७८ माघ २१ गते शुक्रबार

    हिमपातले अवरुद्ध दुई राजमार्ग सञ्चालनमा, एक अझै अवरुद्ध

    बैतडी । हिमपातका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग पुनः सञ्चालनमा आएको छ । डडेल्धुरा जोड्ने दशरथचन्द राजमार्ग र दार्चुला जोड्ने महाकाली राजमार्ग सञ्चालनमा आएका हुन् । 

    भारी हिमपातका कारण बिहीबार अपराह्नदेखि अवरुद्ध रहेका यी दुवै राजमार्ग शुक्रबार दिउँसोपछि सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । 

    सडक डिभिजन कार्यालयका चारवटा जेसिभी र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीको सहयोगमा राजमार्ग सञ्चालनमा ल्याइएका हुन् । प्रमुख जिल्ला अधिकारी पाण्डेले भए, “बन्द रहेका राजमार्ग खुलाउन बिहानैदेखि जेसिभी र सुरक्षाकर्मी परिचालन गरेका थियौँ, दिउँसोपछि मात्रै सञ्चालन गर्न सफल भइयो ।” 

    राजमार्ग खुलाउन तथा हिउँ सफा गर्न बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेशबहादुर पाल, सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाह, हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानासहितको सुरक्षाकर्मीको टोली खटिएको थियो । राजमार्ग सञ्चालनमा आएसँगै बीच बाटोमै रोकिएका सवारीसाधन र यात्रुहरु आआफ्नो गन्तव्यतर्फ लागेका छन् । 

    यी दुवै राजमार्ग खुले पनि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग भने अझै सञ्चालन हुन सकेको छैन । बैतडी खण्डको खोपडे–श्रीभावरसम्म भारी हिमपात भएकोले उक्त सडक खुलाउन समय लागेको हो । बन्द रहेको उक्त राजमार्ग पुनःसञ्चालनका लागि जेसिभी प्रयोग गरी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

    जयपृथ्वी राजमार्ग खुलाउन ढिलाइ हुँदा उक्त क्षेत्रमा रोकिएका यात्रुहरु समस्यामा परेका छन् । बिहीबार बिहानैदेखि मौसममा आएको परिवर्तनसँगै दिउँसोपछि हिमपात भएको थियो । अझै पनि मौसममा सुधार हुन नसकेकोले  पुनः राजमार्ग बन्द हुने सम्भावना बढेको छ । 
     
    यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले  चिसो बढेकाले जनजीवन कष्टकर बनेको हो । वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आग्रह गरेको छ । 
     
    चिसोले बालबालिका तथा वृद्धवृद्धाहरुलाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न  र लामो दूरीको यात्रामा ननिस्कन पनि आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र  गत पुसमा पनि हिमपात भएको थियो ।  


    images
    images

    Logo