काठमाडौँ । पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आर्थिक बर्ष २०७७/०७८ को पुस मसान्तसम्मका तुलनामा चालु आर्थिक बर्षको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार गत आर्थिक बर्ष को पुस मसान्तसम्म १ सय ३ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । चालु आर्थिक बर्ष को सोही अवधिमा उद्योग दर्ताको संख्या बढेर १ सय ५४ पुगेको छ । विभागका अनुसार हालसम्म ८ हजार ६ सय ८ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका छन् ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४५ ठूला, ५७ मझौला र ५२ साना उद्योग दर्ता भएका छन् । गत आर्थिक बर्षको सोही अवधिमा १७ ठूला, २१ मझौला र ६५ साना उद्योग दर्ता भएका थिए । हालसम्म १ हजार २ सय ५९ ठूला, १ हजार ९ सय६६ मझौला र ५ हजार ३ सय ८३ साना उद्योग दर्ता भएका विभागले जनाएको छ ।
लघु उद्यम र घरेलु उद्योगबाहेक १५ करोड रुपैयाँसम्म स्थिर पूँजी भएको उद्योगलाई साना, १५ देखि ५० करोड रुपैयाँसम्म पूँजी भएका उद्योगलाई मझौला र ५० करोड रुपैयाँभन्दा बढी पूँजी भएका उद्योगलाई ठूला उद्योगका रुपमा लिइन्छ । बढीमा २० लाख रुपैयाँसम्म पूँजी भएको उद्योगलाई लघु उद्यम र परम्परागत सीप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योग भनिन्छ ।
उद्योग दर्तासँगै प्रस्तावित लगानीमा पनि वृद्धि भएको छ । गत आर्थिक बर्षको पुस मसान्तसम्म दर्ता भएका उद्योगमा ७२ अर्ब ६२ करोड रुपैयाँको लगानी प्रस्ताव भएकामा चालु आर्थिक बर्षमा सो लगानी बढेर १ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म २४ खर्ब ७० अर्ब रुपैयाँको लगानीसहित उद्योग दर्ता भएका विभागको तथ्याङ्क छ ।
उद्योगले दिने रोजगारी पनि झण्डै दोब्बरले बढेको छ । गत आर्थिक बर्षको समीक्षा अविधमा उद्योग स्थापनाबाट ६ हजार २ सय ८८ रोजगार भएकामा चालु आर्थिक बर्षको सोही अवधिमा १३ हजार ७ सय ४८ रोजगारी प्रस्तावित भएको विभागले जनाएको छ । हालसम्म दर्ता भएका उद्योगमा ६ लाख ४२ हजार ५ सय ४३ रुपैयाँ रोजगारी प्रस्ताव गरिएको छ ।
विभागबाट विदेशी लगानीको स्वीकृति लिनेको संख्या पनि बढेको छ । गत आर्थिक बर्ष को पुस मसान्तसम्म १ सय २३ विदेशी लगानी स्वीकृति भएकामा समीक्षा अवधिमा सो संख्या बढेर १ सय २९ पुगेको छ । विभागले हालसम्म ५ हजार ३ सय ६६ विदेशी लगानी स्वीकृत गरेको छ । विदेशी लगानीका ठूला उद्योग ३ सय १९, मझौला ५ सय ६६ र साना उद्योग ४ हजार ४ सय ८१ दर्ता भएका छन् ।
समीक्षा अवधिमा विदेशी लगानी २३ अर्ब ४७ करोड रुपैयाँबाट बढेर ३० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । हालसम्म ३ खर्ब ९५ अर्ब ४२ करोड रुपैयाँको विदेशी लगानी प्रस्तावसहितका ५ हजार ३ सय ६६ उद्योग दर्ता भएका विभागले जनाएको छ ।
मुलुकमा औद्योगिक वातावरण बन्दै जानु, नीतिगत तथा प्रशासनिक सुधार, लगानीकर्तालाई सेवा सुविधा र सहजीकरण, लगानीका अवरोधलाई सुधार गर्दै लगेसँगै उद्योग स्थापनाका क्रम बढेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।



