चितवन । भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु गरिएको छ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो ।
अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा १ हजार ९ सय ३३ बत्ती जडान गरिने छ । महानगर प्रमुख रेनु दाहालका अनुसार मूल्य अभिवृद्धि करसहित ११ करोड ४९ लाख ८९ हजार ३ रुपैयाँ ठेक्का सम्झौता भएसँगै सेफ स्टिल÷सूर्योदय ऊर्जा/टपशन जेभिले शुक्रनगरबाट काम सुरु भएको हो
अगामी वैशाखसम्म काम सम्पन्न हुने जनाइएको छ । उनले भने, “सुरक्षा र सुन्दरताको दृष्टिकोणले भरतपुरलाई उत्कृष्ट सहर बनाउन ‘उज्यालो सहर’ अभियान सहयोगी बन्ने छ ।”
महानगरका मुख्य सहरी क्षेत्र जिल्ला प्रशासन, हाकिम, चौबिसकोठी, वीरेन्द्र क्याम्पस, सहिद, पुलचोक, पोखरा बसपार्क दियालो बङ्गला र मालपोत चोकमा हाईमास्ट बत्ती जडान गरिँदै छ । बाँकी सडकलाई स्मार्ट बत्ती जडान गरेर झिलिमिली बनाइने योजना छ ।
उनले भने, “अन्य पूर्वाधारको निर्माणसँगै सुन्दरता र सहजताका लागि भरतपुर महानगरमा यस अनिर्वाय थियो ।” अन्य प्रमुख सडकको समेत सर्वे गरेर प्राधिकरणमा पठाइएको उनले बताए । यस अभियान अन्तर्गतको बत्ती जडान योजनामा महानगरको १० प्रतिशत साझेदारी छ ।
विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलले उज्यालो सहर अभियानमार्फत महानगरमा रातका समयमा यात्रु र सवारी साधनको आवतजावत सहज बनाउन सडक बत्ती जडान सुरु गरिएको जानकारी दिए । हाकिम चोक–गीतानगर–जगतपुर सडक खण्डको १८ दशमलब ४६ किलोमिटर सडकमा ४ सय१ सडक बत्ती जडान हुनेछन् ।
चौबिसकोठीदेखि मेघौलीसम्म २३ दशमलब ८ किलोमिटरमा ५ सय ६९, मङ्गलपुरदेखि शुक्रनगर सम्मको २२ दशमलब १३ किलोमिटरमा ६ सय ५२, पुल्चोकदेखि दियालो बङ्गलासम्मको २ दशमलब ४२ किलोमिटरमा सडक खण्डमा ५८ सडक बत्ती जडान हुने छ ।
यसैगरी दियालोबङ्गलादेखि जिल्ला प्रशासन कार्यलयसम्मको ७ दशमलब ८६ किलोमिटरमा १ सय ६५, बसेनीबजारदेखि लामाटोलसम्मको २ दशमलब १७ किलोमिटरमा ५० र वीरेन्द्र क्याम्पस चोकदेखि विशालचोकसम्मको १ दशमलब २६किलोमिटरमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ । अन्य क्षेत्रमा क्रमशः यस किसिमका बत्ती जडान गर्दै जाने उनको भनाइ छ ।



