काठमाडौं । सरकारले नयाँ ११ औद्योगिक ग्रामको घोषणा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषदको बैठकले पूर्वदेखि सुदूरपश्चिमसम्म औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको हो ।
वाणिज्य तथा आपुर्ति मन्त्रालय अनुसार नयाँ घोषणा गरिएका औद्योगिक ग्राममा बर्दियाको गुलरिया, कालिकोटको शुभकालिका गाउँपालिका, डोटीको शिखर नगरपालिका, दिपायलको सिलगढी नगरपालिका, डडेलधुराको गन्यापधुरा गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, धनकुट्टाको साँगुरीगढी र महालक्ष्मी नगरपालिका रहेका छन् ।
त्यस्तै, धादिङकाे नीलकण्ठ नगरपालिका, नवलपरासीको हुप्सेकोट गाउँपालिका र अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पनि औद्योगिक ग्राम स्थापना गर्ने निर्णय सरकारले गरेको छ ।
चालू आर्थिक वर्षमा सरकारले ५० वटा औद्योगिक ग्राम घोषणा गर्ने लक्ष्य लिएको थियो । यही लक्ष्यअनुरुप हाल ११ वटा ग्राम घोषण गरिएको हो । प्रत्येक स्थानीय तहमा एउटा औद्योगिक ग्राम घोषणा गर्ने लक्ष्य अनुरुप आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ८४ वटा औद्योगिक ग्राम घोषणा भएका छन् ।



