काठमाडौं । नेपाल टेलिकमको नम्बरबाट एनसेल र स्मार्ट टेलिकमको सीममा फोन गर्दा लाग्ने शुल्क घटेको छ । नेपाल टेलिकमले ल्यान्डलाइन तथा जीएसएम प्रिपेड र पोष्टपेड मोबाइलबाट फोन गर्दा लाग्ने शुल्क घटाएको हो ।
अब टेलिकमको ल्यान्डलाइन नम्बरबाट अन्य नेटवर्कमा कुरा गर्दा प्रतिमिनेट १ रुपैयाँ १० पैसा मात्रै लाग्नेछ । पोष्टपेड नम्बरबाट फोन गर्दा १ रुपैयाँ ८ पैसा प्रतिमिनेट मात्रै शुल्क लाग्नेछ । प्रिपेड सीमबाट कल गर्दा भने प्रतिमिनेट १ रुपैयाँ ६२ पैसा लाग्नेछ ।
यसअघि प्रिपेड सीमबाट अर्को नेटवर्कमा कल गर्दा प्रतिमिनेट २ रुपैयाँ शुल्क लाग्थ्यो । पोष्टपेडबाट प्रतिमिनेट १.५० पैसा लाग्थ्यो ।
अहिले टेलिकमको नम्बरबाट आफ्नै नेटवर्कमा कल गर्दा ल्यान्डलाइन र पोष्टपेडबाट १ रुपैयाँ तथा प्रिपेडबाट १.५० रुपैयाँ लाग्दै आएको छ ।



