काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले मंगलबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३÷३ रुपैयाँले बढाएको हो ।
अब पेट्रोल प्रतिलिटर १ सय ४२, डिजेल र मट्टितेलको मूल्य १ सय २५ रुपैयाँ पुगेको छ ।
हवाइ इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएर १ सय १६ रुपैयाँ पुर्याइएको छ । त्यस्तै, बाह्य हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १०० अमेरिकी डलर बढाएर १ हजार ९५ डलर पुर्याइएको छ ।
नेपाल आयल निगमले बिक्री गरेको पेट्रोलको यो मूल्य इतिहासकै महँगो हो । यसअघि २०७० सालमा पेट्रोलको मूल्य अधिकतम १४० रुपैयाँ पुगेको थियो ।
यो मूल्यवृद्धिपछि पनि निगमलाई पेट्रोलियम पदार्थ बिक्रीबापत मासिक ४ अर्ब ५० करोड रुपैयाँ नोक्सान हुने अवस्था देखिएको छ । अन्तर्राष्ट्रिय मूल्य, अत्यधिक कर र डलरको तुलनामा कमजोर बन्दै गएको नेपाली मुद्राका कारण निगम नोक्सानमा गएको हो ।




