काठमाडौँ । सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको समय सीमाभन्दा ६ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउँदै आए पनि विश्वव्यापी रूपमा फैलिएको कोभिड (१९ का कारण विमानस्थल निर्माणको समय एक वर्ष थप गरी २०२२ जुलाई १० सम्म धकेलियो । अहिले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण सम्पन्न भइसकेको बताइएको छ ।
सन् २०२२ जुलाई नजिकिँदै गर्दा पोखरालाई विश्वसँग जोड्न महत्वपूणर् मानिएको विमानस्थल नजिकै रहेको फोहोर विसर्जनस्थल व्यवस्थापनतर्फ समयमै नसोचिँदा अहिले यो मुख्य समस्याका रूपमा देखिएको छ । सुरक्षित उडानका लागि विमानस्थल दुई किलोमिटर क्षेत्रमा रहेको ल्याण्डफिल साइटलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थल जुलाईसम्ममा सम्पन्न हुने तर ल्याण्डफिल साइटको व्यवस्थान हुन नसके उडान सम्भव नहुने बताए । उनले भने, “विमानस्थलको ९१ प्रतिशत काम सकिएको छ, अब बाँकी पनि समयमै सकिनेछ तर महानगरको जिम्मेवारीभित्र रहेको ल्याण्डफिल्ड साइट समयमै स्थानान्तरण गरिएन भने उडानमा समस्या आउने छ ।”
उनले महानगरलाई यस विषयमा पटकपटक लिखित र मौखिक रुपमा जानकारी गराइरहे पनि सोअनुरुप काम अघि बढ्न ढिलासुस्ती भइरहेको बताए । “मुख्य समस्याका रूपमा रहेको ल्याण्डफिल साइडका लागि उचित स्थानको खोजी भइरहेको र छिट्टै यसको समाधान हुन्छ भन्ने आश्वासन मात्र महानगरबाट पाएका छौँ”, मुनाकर्मीले भने ।
पोखरा महानगरपालिका वडा नं १४ बाच्छेबडुवामा रहेको ल्याण्डफिल साइट हाल निर्माणाधीन विमानस्थलबाट करिब २ किलोमिटरमा छ । उडानसम्बन्धी अन्तरराष्ट्रिय मान्यतानुसार विमानस्थलबाट १० किमीभित्र ल्याण्डफिल्ड साइट हुदैछ । ल्याण्डफिल साइट नजिक हुँदा चिल, गिद्धलगायत चराचुरुङ्गीबाट हवाई उडान जोखिममा पर्न सक्ने देखिन्छ ।
लामो समयदेखि एकै स्थानमा आहारको खोजी र आसपासमा बासस्थान बनाइरहेका चरा त्यही ठाउँमा आहाराका लागि आइरहने हुँदा कम्तीमा ६ महिना अगाडिदेखि स्थानान्तरण गर्नुपर्ने मुनाकर्मी बताए । उनले डम्पिङ साइटको स्थान टुङ्गो लगाएर मात्र व्यवस्थापन गर्न सकिए चराबाट उडानमा आउने समस्या समाधानका लागि बाटो खुल्ने बताए । पुरानो ठाउँमा बाक्लो माटाले पुरेर र बर्ड स्केरिङ डिभाइस राखेर त्यस क्षेत्रमा देखिने अन्य चराको समस्यालाई पनि व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।
उनका अनुसार अब विमानस्थलमा ‘फिनिसिङ’का केही काम बाँकी छन् । वर्षायाम शुरुअघि नै ‘अपडेट स्ट्रक्चर’लगायत कार्य सम्पन्न गरिने उहाँले जानकारी दिए । यसबाहेक निर्माणाधीन विमानस्थलको पूर्वमा रहेको रिठ्ठेपानी डाँडाको उचाइ ४० मिटर काट्न बाँकी नै छ, त्यससँगै विमानस्थल सञ्चालनपूर्व नै पानीको निकासमा देखिएको समस्यालाई पनि समाधान गर्नुपर्ने हुन्छ ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयारी कार्यदलका संयोजक विक्रम गौतम विमानस्थल क्षेत्रमा ल्याण्डफिल साइट हुँदा त्यस क्षेत्रमा आउने चराका कारणले उडान जोखिम बढाउने भएकाले छिटोभन्दा छिटो व्यवस्थापन गर्नुपर्ने बताए ।
“अहिलेको प्रमुख समस्याका रूपमा विमानस्थल क्षेत्रमा पर्ने डम्पिङ साइट हो, अहिले त्यस क्षेत्रमा चराहरूको जुन गतिविधि छ, त्यसले उडानलाई चुनौती थप्छ, यस विषयमा महानगरले विशेष चासो दिएर सञ्चालनपूर्व नै स्थानान्तरण गर्नुपर्ने हुन्छ तर अहिलेसम्म पनि जग्गाको टुङ्गो लागेर काम अघि बढेको छैन”, गौतमले भन्नुभयो । उहाँका अनुसार महानगरको ढिलासुस्तीले उडान सञ्चालनमा चुनौती थप्ने छ ।
चरा विज्ञसँगको छलफलअनुसार तत्काल यसको व्यवस्थापन गर्न सके ४० प्रतिशत चराको गतिविधि त्यहाँबाट रोक्न सकिनेछ । त्यसबाहेक पनि विमानस्थल आसापास खोलाका किनार, फोहोर, नभचर बासस्थानका कारण पनि त्यस क्षेत्रमा देखिने चरालाई पनि रोक्नुपर्ने अर्को चुनौती छ । पोखरामा स्थानीयसँगै आगन्तुक चराको पनि चहलपहल बढी भएकाले गार्डिङ, साइरन, शिकारी र अन्य उपकरणको प्रयोग गरेर गतिविधि न्यूनीकरण गर्न सकिने गौतमले बताउनुभयो ।
चरा उडान शतप्रतिशत रोक्न सम्भव नहुने उनको भनाइ छ । “खुला आकाशमा चरा नभएको जहाज उडान परिकल्पना गर्न सकिँदैन, सकेसम्म चरालाई एभोइड गरेर उडान गर्नुपर्छ, बेलाबेलामा चरा जहाजमा ठोकिएको, जहाजले चरा हानेको समाचारहरू आइरहेका छन्, खुला आकाशमा जहाज र चरा उडान सँगसँगै हुने अवस्था आएमा हुन्छ ।”
उनले ‘एक्सेप्टेबल लेभल अफ सेफ्टी’लाई ध्यान दिएर अघि बढ्नुपर्ने बताए । उजका अनुसार पोखरा चराका हिसाबले अत्यन्त ‘भल्नरेबल’ ठाउँ भएकाले वर्षमा केही समय एयरपोर्ट बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । विशेष गरी सेप्टेम्बरमा धेरै चराले बच्चा पाउने र कोरल्ने गतिविधि हुने भएकाले त्यसलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उनका अनुसार महानगरले प्रस्ताव गरेका स्थानमध्ये उडानको प्राविधिक नियमअनुसार भलामको पसमराम जग्गा उपयुक्त हुन्छ । अन्तराष्ट्रिय अभ्यासअनुसार विमानस्थलको १० किलोमिटर ल्याण्डफिल साइट स्वीकार गर्न मिल्दैन । एउटा दूरीले नाप्ने विषय तथा अर्को भौगोलिक विशेषता, विमानस्थल र त्यस क्षेत्रको दूरीको सम्बन्ध पनि हेर्नुपर्ने उनको भनाइ छ । गौतमका अनुसार पोखरा विमानस्थल सञ्चालनका लागि १० समस्या रहेकामा पहिलोमा ल्याण्डफिल, दोस्रोमा रिठ्ठेपानी डाँडा कटान र तेस्रोमा नहर व्यवस्थापन तथा बाँकी सात नीतिगत समस्या छन् ।
रिठ्ठेपानी डाँडाको समस्या समाधान लगभग अन्तिम चरणमा पुगेको छ । महानगरको जिम्मेवारीभित्र रहे पनि ऊ एक्लैले मात्र सल्टाउन गाह्रो हुन सक्ने भएकाले प्रदेशका मुख्यमन्त्री तथा प्रधानमन्त्री, विभागीय मन्त्रीलाई समेत समस्याका बारेमा अवगत गराइएको उनले बताए । “हामीले मुख्य समस्याका रूपमा सबैलाई ध्यानाकर्षण गराइरहँदा पनि जुन गतिमा काम हुनुपर्ने हो, त्यसअनुरुप भएको छैन । तसर्थ निर्माण अन्तिम चरणमा पुग्दा सो विषयमा गम्भीर भएर काम गर्न हामी महानगरलाई अनुरोध गर्दछौँ ।”



