काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले आज तराईमा वर्षा तथा पहाडमा हल्का हिमपातकाे सम्भावना रहेकाे मौसम पूर्वानुमान माहाशाखाले बताएको छ । हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु र कुहिरो लागिरहेको माहाशाखाले जनाएको छ ।
आज बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको माहाशाखाले जनाएको छ ।
मंगलबार, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
बुधबार, प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको संभावना रहेको मौसम पूर्वानुमान जनाएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरेको छ ।



