काठमाडौं । उत्पादन हुने सिजनमै चिनीमा कालोबजारी सुरु भएकाे छ । दशैं तिहारको समयमा समेत नपुगेको मूल्य यतिबेला ब्यापारीले लिन थालेका छन् । अहिले चिनी किलोको १ सय रुपैयाँसम्म पर्न थालेको छ । चिनीको अत्यधिक माग हुने तिहारमा समेत चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म थियो ।
उपभोक्ताकर्मी ज्योति बानियाँ सिजनमै कालोबजारी हुँदा समेत सरकार चुप लागेर बसेको बताए । ‘अहिले चिनी उत्पादन हुने सिजन हो, यही सिजनमा किलोकै १ सय रुपैयाँ लिनु भनेको त अचाक्ली नै हो,’ उपभोक्ताकर्मी बानियाँले भने, ‘आफ्नै आँखा अगाडि कालोबजारी भइरहँदा पनि सरकार चुप लागेर बस्नु भनेको झन लाजमर्दो हो । बजार अनुगमन गरी मूल्य नियन्त्रणमा लिनुपर्ने सरकार किन कानमा तेल हालेर बसेको छ, बुझिनसक्नु छ ।’
सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई चिनी आयातका लागि अनुमति नदिएकाले पनि व्यापारीको मनपरी बढेको हो । विगतका सरकारले साल्ट ट्रेडिङलाई भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिने गरेको थियो । चालू आर्थिक वर्षमा सरकारले साल्ट ट्रेडिङलाई चिनी आयात गर्न अनुमति नदिँदा हाल साल्ट ट्रेडिङसँग बिक्री गर्न चिनी छैन । मौज्दात चिनी हुँदा साल्ट ट्रेडिङले पछिल्लोपटक उपभोक्तालाई प्रतिकिलो ७९ रुपैयाँ ५० पैसामा बिक्री गरेको थियो ।
अहिले भारतमा अहिले खुद्रा पसलमा चिनी प्रतिकिलो ४५ देखि ५० रुपैयाँमा पाइन्छ । सोही चिनी ४० प्रतिशत भन्सार र ढुवानी भाडा जोड्दा नेपाली उपभोक्ताले प्रतिकिलो ७० देखि ७५ रुपैयाँसम्म पाउनुपर्ने हो । तर, मूल्य १०० रुपैयाँ भन्दा पनि बढी पर्न थालेको छ ।
चिनी उत्पादन संघका अध्यक्ष शशिकान्त अग्रवाल भने चिनीको लागत महँगो भएको भन्दै चिनीको मूल्य ९० देखि ९२ रुपैयाँसम्म लिन पाउनुपर्ने बताउँछन् । ‘किलोको सय रुपैयाँ चाहिँ बढी नै हो,’ उनले भने ।
उद्योग, वाणिज्य उपभोक्ता संरक्षण विभागका निर्देशक प्रेमकुमार श्रेष्ठले भने कोभिडका कारण अनुमगन गर्न पर्याप्त जनशक्ति नभएको बताए । बजार मूल्य अध्ययन गरी चिनीमा बढेको मूल्यमा विभागले अनुगमन गर्ने उनले बताए ।



