काठमाडौँ । नेपाल राष्ट्र बैंकले हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) लाई वित्तीय संस्थाको मान्यता दिएको छ । केन्द्रीय बैंकको वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो ।
वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम वित्तीय संस्थाको मान्यता दिइएको हो । नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले सो संस्था स्थापना गरेको हो । कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ भने रेमिट हाइड्रोका नाममा २ जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको छ । संस्थाको कूल पूँजी २२ अर्ब रुपैयाँ बराबर छ ।
एचआईडीसीएलले वित्तीय संस्थाको मान्यता प्राप्त गरेसँगै अब बैंक तथा वित्तीय संस्थाले पाउने सुविधा उसले प्राप्त गर्नेछ । वित्तीय संस्थाले सरह यसले राष्ट्र बैंकसँग अनुमति लिएर विभिन्न माध्यमबाट स्रोत जुटाउन, लगानी गर्न, सहवित्तीयकरणमा सहभागी हुन पाउनेछ । साथै केन्द्रीय बैंकको नियमनमा रहने भएकोले यो संस्थाप्रतिाको विश्वास समेत पहिलेभन्दा बढी हुन्छ । बैंक तथा वित्तीय संस्थासँग छोटो अवधिको वित्तीय कारोबार पनि अब पहिलेभन्दा सहज हुन्छ ।



