images
images

गाैतमबुद्ध विमानस्थलमा फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान


  • 414
    SHARES
  • २०७८ माघ १६ गते आइतबार

    गाैतमबुद्ध विमानस्थलमा फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान

    काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ९ गते परीक्षण उडान हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले क्यालिब्रेसन फ्लाइट हुने जानकारी दिएका हुन् । शनिवार दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात् उनले भने, ‘मौसमले साथ दिएमा फागुन ९ गते क्यालिब्रेसन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ ।’

    ढिलो गरी निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । विमानस्थल कसलाई सञ्चालनको जिम्मा दिने भन्ने निर्णय भएको छैन । यद्यपि फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने र बुद्ध जयन्तीदेखि नियमित उडान शुरु गर्ने सरकारको योजना छ ।

    मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिब्रेशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिएका छन् । उनले भने, ‘कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोकियोस् ।’
     
    मन्त्री आलेले भने, ‘सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद यादव यहीँ हुनुहुन्छ । यो निर्वाचन क्षेत्रका माननीय घनश्याम भुसालले दिनदिनै सोध्नुहुन्छ, प्रधानमन्त्री, मन्त्रीज्यूहरू सबैको चासो छ, यो विमानस्थलमा छिटो उडान हुनुपर्छ भन्नेछ । हामी त्यहीअनुसार तयारी गरिरहेका छौं ।’
    लेखा समितिका सभापति भरतकुमार शाह र सांसद प्रमोदकुमार यादवले छिटो उपकरण चेकजाँच गरी उडानको तयारी गर्न आग्रह गरे ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेका अनुसार एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्नेछ ।

    एरोथाइका नेपाल प्रतिनिधि विजेन्द्र श्रेष्ठले भने, ‘यहाँको मौसमलाई तीन वर्षमा नियाल्दा भिओएफआरमा उड्न मिल्छ । क्यालिब्रसन फ्लाइटका लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । फ्रेबुअरी २१ मा भैरहवामा जहाज ल्याण्डिङ गर्ने तयारी छ । कुनै पनि हालतमा २१ फेब्रुअरीभन्दा ढिला हुँदैन ।’  
       
    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आईसीपी वान र टु गरेर साढे सात अर्ब रुपैयाँ लगानी भइसकेको छ ।


    images
    images

    Logo