काठमाडौं । अनुमतिबिना फोटो खिच्न नपाउने गृह मन्त्रालयको विज्ञप्तीप्रति नेपाल पत्रकार महासंघको आपत्ति जनाएको छ ।
बिहीबार गृह मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिलाई शारीरिक वा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलाप गरी त्यसको गोप्य फुटेज सामाजिक सञ्जालमा राख्ने कार्य भइरहेको भन्दै अनुमति बिना कुनै पनि प्रकारको तस्वीर लिन वा त्यसलाई सामाजिक सञ्जालमा प्रकाशन गर्न नपाइने उल्लेख गरेको थियो ।
उक्त विज्ञप्तीमा ‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने जस्ता वाक्यांश प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको हो । महासंघ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।



