काठमाडौं । सार्वजनिक विद्युतीय बस वीरगञ्ज भन्सार परिसरमा रोकिएका छन् । कर छुट भनिए पनि भन्सार नाकामा यातायात दस्तुर लगायतका विभिन्न शीर्षकमा कर थप गरेपछि भन्सार शुल्क तिर्न नसक्दा १८ वटा बस एक सातादेखि सीमा नाकामै रोकिएका हुन् ।
सुन्दर यातायातले चीनबाट ल्याएका ती बस कर तिर्न नसक्दा रोकिएका हुन् । सरकारले १ प्रतिशत कर तोके पनि १३ प्रतिशत भ्याटसहित सबै शुल्क गर्दा २५ प्रतिशत कर तिनुपर्ने भएपछि बस भित्र्याउन नसकिएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए ।
उनले भने, “सरकारले सार्वजनिक विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने भनेर भन्सार शुल्क १ प्रतिशत भनेको छ तर त्यसलाई यथावत् राखेर यातायात दस्तुर ५ प्रतिशत, १३ प्रतिशत भ्याटसहित सबै जोडदा २५ प्रतिशतसम्म तिनुपर्ने भयाे । यो हामीले तिर्न सक्ने कुरै भएन ।” सुन्दर यातायातले एउटा बसको १ करोड ८५ लाख रुपैयाँ १८ वटा बस ल्याएको छ ।
सरकारले विद्युतीय बसमा सहुलियत दिएका कारण आफूहरूले बस खरिद गरेको थापाको भनाइ छ । तर एउटा बसको ४० लाख रुपैयाँ कर तिर्न पर्ने भएपछि आफूहरू समस्यामा परेको उनले बताए।“ ४० लाखमा त इन्धनबाट चल्ने बस ल्याउन सकिन्छ, हामीले एक करोड ८५ लाख रुपियाँ तिरेर विद्युतीय बस ल्याएका छौँ ।
सरकारले सहुलियत दिने घोषणा गरेको हो तर सहुलियत भएन, न त प्रोत्साहन नै भयो,” अध्यक्ष थापाले स्पष्ट पारे । सार्वजनिक विद्युतीय सवारीसाधनमा यातायात दस्तुर बढाएर ५ प्रतिशत पु¥याइएको छ, पहिले ३.५ प्रतिशत थियाे । गाडीको बीमा १.५ प्रतिशतबाट बढाएर ३.५ प्रतिशत पुगेको छ । नम्बर प्लेट र परीक्षण गर्दा एउटा बसको करिब ४० हजार रुपैयाँ तिर्नुपर्छ ।
सबै कर जोड्दा एउटा बसको ४० लाख रुपैयाँ कर पर्छ । अध्यक्ष थापाले भने, “सरकारले तत्काल सहजीकरण गर्नुपर्छ, कर छुट दिनुपर्छ, नत्र हामीले भारततर्फ रहेका १६ वटा बस उतै फर्काउँछौ” । उनका अनुसार चारवटा बस भन्सार जाँचपासमा प्रवेश गरेका छन् । ५ वटा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायातले तीन वर्ष पहिला एउटा बसको २१ लाख रुपियाँ कर तिरेर ल्याएको थियो तर अहिले दोब्बर भएको छ ।
अर्थ मन्त्रालयले भने अहिले भएको व्यवस्थाअनुसार नै कर उठाइएको जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले भने, “सार्वजनिक विद्युतीय बसका लागि १ प्रतिशत भन्सार शुल्क हो । यातायात दस्तुर, १३ प्रतिशत भ्याटलगायतका व्यवस्था पनि छन्” अन्य व्यवस्थाका लागि छुट्टै नीति, निर्णय हुनुपर्ने उनको भनाइ छ ।
सरकारले सार्वजनिक विद्युतीय सवारीसाधनलाई १ प्रतिशत भन्सार तोकेको छ । त्यसको ५० प्रतिशत फिर्ता गर्ने व्यवस्था थियो, जुन १ प्रतिशतको आधा तिरे हुने व्यवस्था हो ।
यो व्यवस्थाअनुसार ४० सिटे ठूला विद्युतीय सार्वजनिक सवारीसाधनको ११ देखि १३ लाख रुपैयाँ मात्रै भन्सार पर्न जान्छ तर अहिले सार्वजनिक विद्युतीय बसलाई पनि घुमाउरो तरिकाले विभिन्न बहानामा कर असुल्ने काम भएको थापाको भनाइ छ । सुन्दर यातायातले थप ४० वटा बस ल्याउने भएको छ । गाेरखापत्र दैनिकबाट



