काठमाडौं । लामो समयदेखि महँगा विदेशी मदिराको कारोबार गर्दै आएको व्यापारिक घराना ओमप्रकाश अग्रवालको परिवार नै झन्डै एक महिनादेखि फरार छन् ।
काठमाडौँको दरबारमार्ग र कान्तिपथमा ग्रिन लाइन सेन्टर प्रालिको नाममा २५ वर्षदेखि व्यवसाय गर्दै आएको अग्रवाल परिवार विभिन्न बैंकबाट लिएको करिब एक अर्ब ऋण नतिरी फरार भएको हो ।
अग्रवाल परिवारको नाममा एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बैंक र ग्लोबल आईएमई बैंक गरी चारवटाबाट मात्र ८० करोड रुपैयाँभन्दा बढीको ऋण छ । अग्रवाल परिवारले त्यसअघि पनि ठूलो परिमाणमा सहकारी तथा व्यक्तिगत समेत गरी अर्बसम्म ऋण रहेको अनुमान छ ।
बैंकहरूले ग्रिन लाइनका सञ्चालकलाई हाइपो तथा अन्य शीर्षकमा कर्जा दिएका छन् । हाइपोमा दिएको कर्जामा धितो हुँदैन, जोखिम बढी हुन्छ । यस्तो कर्जा व्यवसायको आकार र स्टकमा रहेको मौज्दातका आधारमा दिइन्छ । त्यसैले बैंकहरूले आआफ्नै तरिकाले ३५ दिने सूचना निकालेर ऋण असुलीको प्रक्रिया सुरु गरेका छन् । बैंकहरूले दिएको सबै ऋण हाइपो नभएका कारण घरजग्गा, फ्ल्याटलगायतको सम्पत्ति धितो राखिएको ऋण पनि छ ।
मेगाले स्टक र धितो दुवै राखेर ऋण दिएको छ । एभरेष्टले ज्ञानेश्वर चोकमा १७ आना जग्गा र घरसहित विभिन्न ठाउँका फ्ल्याट राखेर ऋण दिएको छ । ग्लोबल आईएमईले ज्ञानेश्वरकै अर्को १७ आना जग्गा धितोमा राखेर ऋण दिएको छ । इन्भेस्टमेन्टको पनि धितो र स्टकमा ऋण छ ।
मेगाले कलंकीका विभिन्न जग्गा राखेर दिएको कर्जाका लागि धितो लिलाम गर्ने प्रक्रिया थालेको छ । उक्त बैंकले बुधबार सूचना प्रकाशन गरी माघ २० गतेसम्म सम्पूर्ण कर्जा तिर्न समय दिएको छ । यदि समयावधिमा कर्जा नतिरे बैङ्कले लिलाम बोलपत्र माघ १९ गतेसम्म दिन सकिने र बोलपत्र माघ २० गते खोलिने जनाएको छ । नेपाल इन्भेस्टमेन्टले भने अग्रवाल परिवार बेपत्ता भएपछि उनीहरूले सञ्चालन गर्दै आएको ग्रिन लाइन सेन्टर दरबार मार्गमा ताला लगाएको छ ।
यति हुँदाहुँदै पनि घटनाको एक महिना पुग्न लाग्दासमेत बैंकहरूले अहिलेसम्म न कुनै अनुसन्धान गर्ने निकायमा उजुरी गरेका छन् न त नियामक निकायमा नै लिखित जानकारी गराएका छन् । अग्रवाल परिवार बेपत्ता भएको मौखिक सूचनापछि स्थानीय प्रहरीले प्रारम्भिक अनुसन्धानबाहेक कुनै फाइल अघि बढाएको छैन । प्रहरीले सञ्चार माध्यमबाट थाहा पाए पनि कुनै उजुरी वा निवेदन नपाएको जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले सो घटनाबारे तीन हप्ता बितिसक्दासमेत कुनै औपचारिक उजुरी नआएकाले अनुसन्धान अगाडि बढ्न नसकेको बताए। उनले प्रश्न गरे, “अर्बाैंको रकम हिनामिना भएको हो भने ठगिएकाले खोइ त उजुरी गरेको ?” परिवारका केही आफन्तबाहेक अन्य कुनै पनि ठाउँबाट रकम नतिरी भागेको कुनै उजुरी नपरेको उनले बताए ।
नेपाल राष्ट्र बैंकले उक्त घटनापछि मातहतका बैंक तथा वित्तीय संस्थाको लगानी विवरण झिकाएर अध्ययन गरिरहेको जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले झन्डै ३० लाखभन्दा बढी ऋणीहरूको सम्पूर्ण विवरण राष्ट्र बैंकले राख्न सम्भव नहुने भएकाले सम्बन्धित वित्तीय संस्थालाई नै जिम्मेवार बनाइएको बताए ।
उनले प्रत्येक वित्तीय संस्थाले गरेको लगानीको लगत झिकाएर राष्ट्र बैंकले अध्ययान सुरु गरेको जानकारी दिए । भट्टले भने, “बिनाधितो यति ठूलो रकम किन र केका लागि प्रवाह भएको हो ? भन्नेबारे जवाफ मागेका छौँ ।” यो घटनापछि कर्जा प्रवाहबारे राष्ट्र बैंकबाट छुट्टै निर्देशिका जारी हुनेसमेत उनले बताए । गोरखापत्र दैनिकबाट



