काठमाडौं । शुक्रबार धेरैजसो बैंक तथा वित्तीय संस्थाले एकैदिन वित्तीय विवरण सार्वजनिक गरे । प्रत्येक त्रैमास सकिएको १५ दिनभित्र सो अवधिसम्मको वासलात र नाफा नोक्सान हिसाब खाताको अवस्था अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।
यस अन्तर्गत बैंक तथा वित्तीय संस्थाले एकैदिन यस्तो विवरण प्रकाशन गरेका हुन् । शुक्रबारसम्म २२ वटा वाणिज्य बैंक, ८ वटा राष्ट्रिय स्तरका विकास बैंक, वित्त कम्पनी, प्रादेशिक स्तरका विकास बैंक एवं धेरैजसो लघुवित्त संस्थाहरुले समेत शुक्रबारसम्म वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । त्यसमध्ये अधिकांश विवरण शुक्रबार नै प्रकाशन भएको हो ।
बिहीबार कारोबार भएर बन्द भएपछि आज मात्रै शेयर बजार खुल्दैछ । हालसम्म सार्वजनिक भएकामध्ये अधिकांश बैंक तथा वित्तीय संस्थाको विवरण शुक्रबार नै प्रकाशन भएकोले यो विवरणको प्रतिक्रिया शेयर बजारले कसरी देखाउँछ हेर्न बाँकी छ ।
यसपटक केही ठूला वाणिज्य बैंकहरुको कर्जा उठ्न नसकेको देखिन्छ । यसका कारणले इम्पेरिमेन्ट चार्जबापत छुट्याउनुपर्ने रकममा बढोत्तरी भएको देखिन्छ । यसको प्रभाव नाफामा समेत परेको छ । यही कारणले यी बैंकप्रति लगानीकर्ता निराश देखिएका छन् ।
केही बैंकहरु भने यही बीचमा उच्च नाफा हासिल गर्न र निष्क्रिय कर्जा अनुपात घटाउन समेत सफल भएका छन् । खासगरी विगतमा अलिक कमजोर मानिएका र निष्क्रिय कर्जा धेरै रहेका बैंकहरुले भने यस्तो कर्जाको आकार घटाएका छन् । यसले लगानीकर्तामा एक प्रकारको उत्साह थपेको छ ।
उता राष्ट्रिय स्तरका अधिकांश बैंकले यो त्रैमासमा राम्रो प्रगतिको विवरण सार्वजनिक गरे । २ बैंक बाहेक यो अवधिमा सबै बैंककले नाफा बढाए । ८ बैंकमध्ये ५ बैंकको नाफा यो अवधिमा २५ प्रतिशत भन्दा धेरैले बढ्यो । फाइनान्स कम्पनीको वित्तीय पर्फर्मेन्स पनि यो अवधिमा राम्रो नै देखिएको छ । समग्रमा वित्तीय संस्थाहरुको वित्तीय विवरणलाई बजारले उत्साहजनक नै मानेको छ ।
यस्तो अवस्थालाई शेयर बजारले कसरी रियाक्ट गर्ला ? अहिले लगानीकर्ताको मुख्य चासो यसमा छ ।
पछिल्लो समय शेयर बजार निरन्तर बढिरहेको छ । एकाध दिनलाई छाड्ने हो भने शेयर बजार विगत २/३ सातादेखि निरन्तर बढ्दै गएको छ । यो अवधिमा बजारले ३ सय भन्दा धेरै अंकको वृद्धि हासिल गरिसकेको छ । यही वृद्धिका कारण शेयर बजारमा 'टेवा' भन्दा 'प्रतिरोध' बढी सक्रिय छ । यद्यपि बैंकिङ क्षेत्रको विवरणमा देखिएको यो उत्साहले बजारकाे थप 'टेवा' दिने अनुमान गर्न सकिन्छ ।
तर, शेयर बजारका विश्लेषक भने दोस्रो त्रैमासमा देखिएको नाफाको वृद्धि वा गिरावटको अवस्थाबाट बजार प्रभावित हुन नहुने बताउँछन् । विश्लेषक अनलराज भट्टराई दोस्रो त्रैमासको रिपोर्टबाट नै सबै वित्तीय संस्थाको चित्र प्रष्ट हुन नसक्ने भएकोले यसका लागि तेस्रो र चौथो त्रैमाससम्म कुर्नुपर्ने बताउँछन् ।
‘सेकेन्ड क्वार्टरमा जस्तो रिपोर्ट आएको छ, त्यो ठीकै छ । तर, यसबाट नै बैंक तथा वित्तीय संस्थाको पिक्चर क्लियर हुन्छ भन्ने मलाई लाग्दैन,’ भट्टराई भन्छन्, ‘चैत मसान्त, असार मसान्तमा आउने रिपोर्टले यसलाई थप प्रष्ट बनाउँछ ।’



