images
images

भोटेकोशी बाढी वर्षाका कारण नभई हिमपहिरोबाट आएको सरकारी प्रतिवेदन


  • 66
    SHARES
  • २०८३ भाद्र २८ गते आइतबार

    भोटेकोशी बाढी वर्षाका कारण नभई हिमपहिरोबाट आएको सरकारी प्रतिवेदन

    काठमाडौं । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खसेर आएको निष्कर्ष सार्वजनिक गरेको छ ।

    जल तथा ऊर्जा आयोगअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनअनुसार माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा गएको ‘आइस–रक एभलान्स’ अर्थात् हिमपहिरो का कारण बाढी आएको हो । प्रतिवेदनमा हिमपहिरो खस्दा ५.२ म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड भएको उल्लेख छ ।

    प्रतिवेदनका अनुसार हिमपहिरोपछि आएको बाढी रसुवागढीसम्म प्रतिघण्टा करिब ८८ किलोमिटरको तीव्र गतिमा पुगेको थियो । अत्यधिक वेगका कारण नदी किनारमा रहेका रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती र मलेखुका महत्वपूर्ण जलमापन केन्द्रहरू बगेर पूर्णरूपमा नष्ट भएका छन् ।

    यद्यपि, बाढीको पूर्वसूचना दिन उपलब्ध छोटो समयमै रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनका प्रभावित क्षेत्रमा ६ लाख ७८ हजारभन्दा बढी एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा जनाइएको छ ।

    बाढीपछि माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा दुईवटा नयाँ अस्थायी ताल बनेका छन् । ती ताल फुट्न सक्ने सम्भावना रहेकाले तल्लो तटीय क्षेत्रमा अझै बाढीको जोखिम कायम रहेको प्रतिवेदनले औँल्याएको छ ।

    सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले भविष्यमा तत्काल पूर्वसूचना प्रवाह गर्ने उद्देश्यले रसुवाको टिमुरेमा सीसीटीभीमार्फत रियल–टाइम नदी अनुगमन प्रणाली समेत जडान गरेको छ । यो नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको रियल–टाइम नदी अनुगमन प्रणाली भएको जनाइएको छ ।


    images
    images

    Logo