images
images

विभिन्न स्थानमा भएका सडक दुर्घटनामा चार जनाको मृत्यु


  • 126
    SHARES
  • २०८३ भाद्र २८ गते आइतबार

    विभिन्न स्थानमा भएका सडक दुर्घटनामा चार जनाको मृत्यु

    काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरी, सुर्खेत र तनहुँमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

    सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल कल्भर्टमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इनरुवा नगरपालिका–३ का सागर रेग्मी र पारस थापाको मृत्यु भएको हो । गम्भीर घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

    यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बरिपाटीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५५ वर्षीय आशा बुढाको मृत्यु भएको छ । सडकपेटीमा हिँडिरहेका बुढालाई मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका थिए । माया नर्सिङ होम हुँदै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा पृथ्वीराजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना६ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा मकवानपुरको मनहरि गाउँपालिका–६ का २६ वर्षीय अजय थिङ गम्भीर घाइते भएका थिए । उनलाई प्रदेश अस्पताल दमौली पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    दुर्घटनापछि प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ११ जनाको टोली घटनास्थल पुगेको थियो ।


    images
    images

    Logo