रुकुम पश्चिम । रुकुम पश्चिममा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
सानीभेरी गाउँपालिका–६ कोटगाउँबाट गाउँपालिकाको केन्द्र सिम्ली हुँदै जिल्ला सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको जीप सानीभेरी गाउँपालिका–३ र ६ को सीमाना डाङडुङ्गे क्षेत्रमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार जीप देउता खोलानजिक दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा त्रिवेणी गाउँपालिका–रुघाका जीप चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की प्रेमकला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
दुर्घटनामा जीपधनीसहित १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूको थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टरको माग गरिएको छ । सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्राचार गर्दै हेलिकप्टरको व्यवस्था गर्न आग्रह गरेको हो ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



