काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत निर्माण भइरहेको १८ किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । यो एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ स्थित न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको प्रसारण लाइन खण्ड निर्माण सम्पन्न भएको हो । शिलान्यास भएको करिब नौ महिनामै उक्त खण्डको निर्माण पूरा गरिएको हो ।
तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डिन आर थम्प्सनले १० मंसिर २०८२ मा प्रसारण लाइनको शिलान्यास गरेका थिए ।
एमसीए–नेपालले भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ८ भदौ २०८१ मा उक्त प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । १ करोड २३ लाख ८० हजार अमेरिकी डलर लागतमा २१ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कार्य निर्धारित समयभन्दा अघि नै पूरा भएको हो ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि वैदेशिक सहायता कार्यक्रमको समीक्षा गर्दै केही समयका लागि सहायता स्थगित गरिएपछि आयोजनाको कार्यान्वयनसमेत प्रभावित भएको थियो ।
बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएसँगै नेपाल–भारतबीचको दोस्रो सीमापार प्रसारण लाइनको नेपालतर्फको खण्ड तयार भएको छ ।
एमसीसीको अनुदानअन्तर्गत नेपालमा कुल ३१५ किलोमिटर ४०० केभी प्रसारण लाइन निर्माण गर्ने योजना छ । यसअन्तर्गत थप तीन प्याकेजका लागि निर्माण ठेक्का सम्झौता भइसकेका छन् ।
यसैगरी, एमसीसीअन्तर्गत ४०० केभी क्षमताका विद्युत् सबस्टेसन निर्माण तथा सडक सुधारका आयोजनासमेत कार्यान्वयन भइरहेका छन् ।



