काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो १२ घण्टामा मध्यमदेखि ठूलो वर्षा भएको छ । हाल कर्णाली प्रदेशका साथै लुम्बिनी र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकमा ६५ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । गएराति रसुवा, पर्वत, स्याङ्जा, कास्की, दोलखा, सङ्खुवासभा र सोलुखुम्बुमा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका तराई भूभागमा भने तुलनात्मक रूपमा कम वर्षा भएको छ ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ ।
ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । साथै जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा तथा नदी, खोला र पहिरो सम्भावित क्षेत्र आसपास रहँदा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।



