images
images

मुलुकमा अर्थतन्त्रको बाह्य क्षेत्र सबल : विप्रेषण र मुद्रा सञ्चिति बढ्यो, चालु खाता र शोधनान्तर बचतमा


  • 564
    SHARES
  • २०८१ फाल्गुण २६ गते सोमबार

    मुलुकमा अर्थतन्त्रको बाह्य क्षेत्र सबल : विप्रेषण र मुद्रा सञ्चिति बढ्यो, चालु खाता र शोधनान्तर बचतमा

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको अवधिमा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सबल देखिएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आव, माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नेपालले प्राप्त गर्ने विप्रेषण बढेको छ भने विदेशी मुद्रा सञ्चिती पनि उच्च बिन्दुमा पुगेको छ । यस्तै, चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ ।

    चालु आवको पछिल्लो सात महिनामा रु नौ खर्ब विप्रेषण भित्रिएको छ । यो अवधिमा विप्रेषण आप्रवाह सात दशमलव तीन प्रतिशतले वृद्धि भई रु नौ खर्ब ५८ करोड पुगेको छ । यही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई लाख ७४ हजार छ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९० हजार आठ सय ८६ रहेको छ ।

    यस्तै, चालु आवको सात महिनामा चालु खाता रु एक खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो । यो अवधिमा खुद पुँजीगत ट्रान्सफर रु पाँच अर्ब ८३ करोड रहेको पनि नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, समीक्षा अवधिमा रु सात अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

    गत माघ मसान्तसम्म मुलुकको शोधनान्तर स्थिति रु दुई खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको थियो । गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो सात महिनामा १६ दशमलव एक प्रतिशतले वृद्धि भई समीक्षा अवधिमा रु २३ खर्ब ६९ अर्ब आठ करोड पुगेको छ ।

    कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति सात महिनामा १३ दशमलव नौ प्रतिशतले वृद्धि भई रु २१ खर्ब पाँच अर्ब १४ करोड पुगेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ३७ दशमलव एक प्रतिशतले वद्धि भई रु दुई खर्ब ६३ अर्ब ९३ करोड कायम भएको छ ।

    हाल मुलुकसँग कायम विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ । चालु आवको सात महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव दुई महिनाको वस्तु आयात र १४ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।


    images
    images

    Logo