images
images

६ महिनामा ७ प्रतिशतले बढ्यो आयात, व्यापार घाटामा ४.३ प्रतिशतको वृद्धि


  • 443
    SHARES
  • २०८१ माघ ७ गते सोमबार

    ६ महिनामा ७ प्रतिशतले बढ्यो आयात, व्यापार घाटामा ४.३ प्रतिशतको वृद्धि

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा आयात ७ प्रतिशतले बढेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आव पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको हो ।

    गत आव सोही अवधिको दाँजोमा यो ७.०६ प्रतिशतले बढी हो । गत आव ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको थियो ।

    भन्सार विभागको तथ्याङ्कले बजारमा वस्तु माग बढेको देखाउँछ । गत पुसमा १ खर्ब ६१ अर्ब बराबर आयात भएको छ । यो गत मंसिरको दाँजोमा १३ अर्ब रुपैयाँले धेरै हो ।

    आयातसँगै निर्यात पनि उल्लेख्य परिमाणले बढेको छ । विभागका अनुसार चालु आव पहिलो ६ महिना (साउन–पुस) मा निर्यात ३१.७८ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा निर्यात ७.२ प्रशितले घटेको थियो ।

    उक्त अवधिमा नेपालबाट ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा भने ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो ।

    विभागका अनुसार गत ६ महिनामा १८ अर्ब ९१ करोड बराबर भटमास तेल निर्यात भएको छ भने ४ अर्ब ९८ करोड बराबर सनफ्लावर तेल निर्यात भएको छ ।

    बढ्यो व्यापार घाटा

    चालु आव पहिलो ६ महिनामा मुलुको व्यापार घाटा ४.३८ प्रतिशतले बढेको छ ।

    भन्सार विभागका अनुसार दोस्रो त्रैमाससम्ममा ७ खर्ब २३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ । गत आव सोही अवधिमा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख बराबर व्यापार घाटा थियो ।


    images
    images

    Logo