काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना पुग्नै लाग्दा सरकारले एक तीहाई मात्र बजेट खर्च गर्न सकेको छ । आर्थिक वर्ष २०८१/८२ को पुस २१ गतेसम्ममा सरकारले ३३.१६ प्रतिशत बजेट खर्चिएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा जनाइएको छ ।
सरकारले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये, हालसम्म ६ खर्ब १२ अर्ब रुपैयाँ मात्र खर्च भएको छ ।
सो अवधिमा सरकारले चालू खर्चका लागि छुट्याएको बजेटको ३६.०३ प्रतिशत खर्च गरेको छ । चालू खर्चका लागि सरकारले यस आर्थिक वर्षमा ११ खर्ब ४० अर्ब रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये, हालसम्म ४ खर्ब ७ अर्ब रुपैयाँ खर्च भएको छ ।
करिब ६ महिना बित्न लाग्दा सरकारको पुँजीगत खर्चको अवस्था भने दयनीय छ । सरकारले यस वर्ष पुँजीगत खर्चका लागि ३ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो जसमध्ये हालसम्म १४.२४ प्रतिशत अर्थात् ४९ अर्ब ७४ करोड रुपैयाँ मात्र खर्च भएको छ ।
राजस्व संकलन पनि एक तीहाईभन्दा कम
करिब ६ महिना बित्नै लाग्दा सरकारले लक्ष्यको ३१.६७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको छ । चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये, हालसम्म ४ खर्ब ४६ अर्ब रुपैयाँ मात्र संकलन भएको छ ।
सो अवधिमा कर राजस्व शिर्षकमा ४ खर्ब ७ अर्ब रुपैयाँ र गैरकर राजस्व शिर्षकमा ३९ अर्ब रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा जनाइएको छ ।



