images
images

फर्केर हेर्दा २०२४ : १० प्रतिशत भन्सार दर घट्दा पनि तोलामा साढे २९ हजारले बढ्यो सुनको मूल्य


  • 785
    SHARES
  • २०८१ पौष १६ गते मंगलबार

    फर्केर हेर्दा २०२४ : १० प्रतिशत भन्सार दर घट्दा पनि तोलामा साढे २९ हजारले बढ्यो सुनको मूल्य

    काठमाडौं । अंग्रेजी वर्ष २०२४ सालमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । वर्षको अक्टोबर महिनाको ३० गते विश्व बजारमा सुनको मूल्य प्रति आउन्स २७८८.५४ डलर पुगेर नयाँ रेकर्ड बनाएको हो । 

    अमेरिकामा ब्याज दर बढ्दै गएको, नयाँ अमेरिकी आर्थिक तथ्याङ्कले व्यापार घाटा बढेको र रोजगारीको अवसरमा आएको गिरावटका कारण विश्व बजारमा सुनको मूल्य एकैपटक आकाशिएको बताइएको थियो । 

    विश्वव्यापी रुपमा नै सुनको मूल्य बढेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ । यस अंग्रेजी वर्षको अक्टोबर ३१ (कात्तिक १५) मा नेपालमा सुनको मूल्य सबैभन्दा उ्रच्च पुगेको थियो । उक्त दिन छापावालको मूल्य प्रतितोला सुन १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । 

    सुनको मूल्यमा उच्च वृद्धि भएसँगै नेपालमा भदौ र असोज महिनामा सुनको आयात करिब शून्य भएको थियो । साउन महिनामा एक लाख १ सय ५ ग्राम सुन नेपाल भित्रिएको थियो । त्यसको पछिल्लो महिना अर्थात् भदौमा ५५ ग्राम मात्रै सुन आयात भएको थियो । असोज महिनामा भने सुनको आयात शून्य नै रहेको भन्सार विभागको तथ्यांकमा देख्न सकिन्छ । 

    सुनको आयात क्रमशः घट्दै शून्यमा नै पुग्ने अवस्था आएपछि आयात वृद्धि गर्ने मनसायले सरकारले सुनको भन्सारदर घटाएको थियो ।  २०८१ मंसिर ९ गते आइतबार बसेको मन्त्रिपरिषद् वैठकले सुनको भन्सार २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो । 

    त्यसको भोलिपल्ट १० गते सोमबार नेपालमा सुनको मूल्य एकैपटक प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसपछिका दिनहरुमा पनि मूल्यमा घटबढ भएको भएतापनि उच्च वृद्धि वा गिरावट देखिएको छैन । 

    २०२४ को पहिलो दिन अर्थात् जनवरी १ (पुस १६, २०८०) मा नेपालमा सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँ रहेको थियो । बिचमा भन्सार दर घटेर सुनको मूल्य घट्दासमेत डिसेम्बर ३१ अर्थात् आज (२०८१ पुस १६) सम्म आइपुग्दा सुनको मूल्य तोलामै २९ हजार ७ सय रुपैयाँले बढेको छ । आज बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    एकै वर्षमा चाँदीको मूल्य पनि प्रतितोला ३१० रुपैयाँले बढेको छ । जनवरी १ मा १ हजार ४५५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य वर्षको अन्तिम दिनसम्म पुग्दा १ हजार ७६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


    images
    images

    Logo