images
images

४ महिनामा काठमाडौं महानगरको बजेट खर्च १३% मात्रै, राजस्व संकलन करिब २५%


  • 367
    SHARES
  • २०८१ मंसिर ६ गते बिहीबार

    ४ महिनामा काठमाडौं महानगरको बजेट खर्च १३% मात्रै, राजस्व संकलन करिब २५%

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा काठमाडौं महानगरपालिकाले १३ प्रतिशत मात्रै बजेट खर्चिएको छ । महानगरले सार्वजनिक गरेको आय व्ययको विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा बजेटमार्फत महानगरपालिकाले थपेको गौरवका योजना र स्वर्णिम योजना बाहेक २ अर्ब ७० करोड ३३ लाख ८० हजार खर्च गरेको हो । महानगरले थप ११ गौरवका योजना र ३० स्वर्णिम योजना बाहेक २० अर्ब ३७ करोड २७ लाख खर्च गर्ने लक्ष्य राखेको थियो ।

    कुल २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बजेटमध्ये ढलरहित नदीनालाको ३ अर्ब ८० करोड थप ३० स्वर्णिम योजनालाई २ अर्बको बजेट घोषणा भएको थियो ।

    महानगरले आर्थिक विकासतर्फ ७३ करोड ३३ लाख ७१ हजारमध्ये ११ करोड २० लाख ७० हजार खर्च गरेको छ । जुन १५.२८ प्रतिशत हो ।

    यस्तै सामाजिक विकासतर्फ विनियोजन भएको ४ अर्ब ९९ करोड ६८ लाखमध्ये ७.७२ प्रतिशत अर्थात् ३८ करोड ५६ लाख ३४ हजार खर्च भएको छ । सबैभन्दा धेरै बजेट रहेको पूर्वाधारतर्फ ७ अर्ब ६२ करोड ५० लाख ११ हजारमध्ये ७८ करोड ६२ लाख ३४ हजार अर्थात् १०.३१ प्रतिशत खर्च गरेको छ ।

    त्यस्तै सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा २ अर्ब ९६ करोड ५८ लाखमध्ये ५.५३ प्रतिशत अर्थात महानगरको १३ करोड ३८ लाख ७४ हजार खर्च भएको देखिन्छ । महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १ अर्ब २५ करोड ५५ लाख ६५ हजार खर्च भइसकेको छ । जुन विनियोजित बजेट ४ अर्ब ५ करोड १५ लाखको ३०.९९ प्रतिशत हो ।

    राजस्व संकलन करिब २५ प्रतिशत

    महानगरले आम्दानी करिब एक चौथाइ गरिसकेको छ । कुल १२ अर्ब ९० करोड ६३ लाख २५ हजार राजस्व उठाउने लक्ष्य लिएकोमा ३ अर्ब १६ करोड ७८ लाख ११ हजार अर्थात् २४.५४ प्रतिशत महानगरले उठाएको छ ।

    आन्तरिक राजस्व ८ अर्ब ३ करोड ५७ लाख लक्ष्य राखेको महानगरले १ अर्ब ९९ करोड ४६ लाख उठाएको छ । जुन लक्ष्यको २४.७७ प्रतिशत हुन आउँछ ।

    यस अवधिमा महानगरले सबैभन्दा बढी घर बहाल कर उठाएको छ । यस शीर्षकमा ९४ करोड ८५ लाख रुपैयाँ उठेको छ भने सम्पत्ति कर ५० करोड ३१ लाख राजस्व संकलन भएको छ ।

    त्यस्तै, चालू आवको चार महिनामा पर्यटन शुल्कबाट ६ करोड ७५ लाख संकलन भएको छ भने अन्य सेवा शुल्कबाट ५ करोड ९६ लाख रुपैयाँ संकलन भएको छ ।

    यसका साथै महानगरले नक्सा पास दस्तुरबाट १२ करोड ७ लाख, सिफारिस दस्तुरबाट २ करोड ८८ लाख र व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट २२ करोड ८७ लाख आम्दानी गरेको छ ।


    images
    images

    Logo