काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को कात्तिक महिनामा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यपस्था तथा अभिलेख विभागले सार्जजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ को कात्तिकको तुलनामा यसपटक घरजग्गाको कारोबारमा २८.६७ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्षको कात्तिकमा देशभरका मालपोत कार्यालयहरुबाट २६ हजार ४६ वटा लिखतपारित भएका थिए । उक्त संख्या यसपटक २८.६७ प्रतिशतले बढेर ३३ हजार ५१४ वटा पुगेको छ ।
लिखतपारितको संख्या बढेसँगै राजस्व संकलनमा पनि वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको कात्तिक महिनामा घरजग्गाको कारोबारबापत २ अर्ब ७० करोड रुपैयाँ संकलन भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २४.९६ प्रतिशतले बढी हो । गत कात्तिकमा घरजग्गाको कारोबारबापत २ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
कात्तिक महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट सबैभन्दा धेरै लिखतपारित भएको छ । उक्त कार्यालयबाट १ हजार २४६ लिखतपारित भएको तथ्यांकमा जनाइएको छ । त्यस्तै, मालपोत कार्यालय बेलवारी, भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम र राजविराजबाट हजार भन्दा धेरैको संख्यामा लिखतपारित भएका छन् ।



