काठमाडौं । सरकारको कुल आम्दानी भन्दा खर्च ८८ अर्ब रुपैयाँले कम रहेको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणमा यस्तो अवस्था देखिएको हो ।
हिजो अर्थात् कात्तिक २५ गते सम्ममा सरकारले कर र अन्य स्रोतबाट कुल ३ खर्ब ३ अर्ब रुपैयाँ आम्दानी गरेको छ । उता खर्च भने आम्दानीभन्दा ८४ अर्ब बढी अर्थात् ३ खर्ब ८७ अर्ब रुपैयाँ देखिएको छ ।
उक्त समयसम्म पुग्दा सरकारले कुल २१.०८ प्रतिशत बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
हालसम्ममा सरकारले २ खर्ब ६९ अर्ब रुपैयाँ चालू खर्च गरेको छ । चालू आर्थिक वर्षमा चालू खर्चका शीर्षकमा ११ खर्ब ४० अर्ब विनियाजन गरेको सरकारले हालसम्म २३.९९ प्रतिशत खर्च गरेको छ ।
त्यस्तै, हालसम्ममा सरकारको पुँजीगत खर्च ९.३ प्रतिशत रहेको छ । ३ खर्ब ५२ अर्ब रुपैयाँ छुट्याइएको पुँजीगत शीर्षकबाट हालसम्म ३२ अर्ब ७४ करोड रुपैयाँ मात्र खर्च भएको छ ।
वित्तिय व्यवस्था अन्तर्गत विनियोजन भएको बजेटको भने २३.३३ प्रतिशत खर्च भएको छ । उक्त शिर्षकमा ३ खर्ब ६७ अर्ब रुपैयाँ छुट्याइएको थियो । जसमध्ये हालसम्म ८५ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ ।
उक्त समयमा सरकारले कर राजस्व र गैर कर राजस्व शिर्षकमा क्रमशः २ खर्ब ६७ अर्ब रुपैयाँ र ३० अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको छ ।



